धनगढी: कैलालीको धनगढीमा हिजो (शुक्रवार) सशस्त्र प्रहरीले आधा करोड बढीका अवैध कपडा बरामद गर्यो। सशस्त्र प्रहरी बल नं. ३४ गण कैलालीका प्रमुख एसपी दलबहादुर पाण्डे आफैं खटिएर ५७ लाख बढी मूल्यका लत्ताकपडा बरामद गरेका थिए।
धनगढी उप-महानगरपालिका वडा नं. ४ स्थित उत्तरखेहडी ईलाकाबाट ५७ लाख १८ हजार ५ सय रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरिएको थियो।
धनगढी बसपार्कको उत्तरपट्टी उत्तरवेहडीस्थित जस्तापाताद्धारा निर्मित गोदाममा २३ वटा बोरामा प्याक गरी लुकाईछिपाई राखेको अवस्थामा कपडा बरामद गरिएको सशस्त्रले जनाएको थियो।
बरामद उक्त लत्ताकपडा कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाईएको प्रहरीले जनाएको छ। तर, सशस्त्रले सो अवैध सामान कसको हो ? कसरी नेपाल भित्रियो भन्नेबारे कुनै विवरण खुलाएको छैन। न कुनै सामानवाला मान्छेलाई पक्राउ नै गरेको छ।
स्रोतका अनुसार भने सो सामान धनगढीकै व्यापारी अङ्कुश गुप्ताको भएको खुलेको छ। गुप्ताले भारतबाट नेपालमा तस्करी गराएर कपडाको व्यापार गर्ने गरेको बताइन्छ। गुप्ताको बालाजी सपिङ सेन्टर नामक कपडाको पसल रहेको छ।
उनै गुप्ताको पसलमा यस अगाडि राजश्वको छापासमेत परेको थियो। कर छली गरेको देखिएपछि उनको पसलमा छापा मारेर कारबाही गराइएको थियो। अहिले पनि तस्करी र अवैध सामानमा उनै जोडिएपनी पक्राउ भने परेका छैनन्। गुप्ताले आफूसँग सामानको बिलहरु रहेको दाबी गर्दै भन्सार धाइरहेको पनि बुझिएको छ।
र, यो पनि: धनगढीको बालाजी र शुसिल श्रृङ्गार करको फन्दामा, लाखौं जरिमाना !