धनगढी : कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालन सुरु गरेको छ । ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरे अनुसार सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी नंम्वर ३५ गण झलारीले कञ्चनपुरको पुनर्वास ११ डोकेबजार बाट कार्यक्रम सुरु गरेको हो ।
अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन सुरु गरिएको गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले जानकारी दिए ।
संगठनको योजना अनुसार चैत्र २५ गते बाट २४सै घण्टा सिमामा परिचालन हुनेगरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पैदल गस्ती कार्यक्रम सुरु भएको छ । सिमास्तम्भ नम्बर ७५२÷७ बाट सुरु भएको कार्यक्रम सशस्त्र प्रहरी निरिक्षक खगेन्द्र बहादुर चन्दको कमान्डमा ३५ जनाको टोली रहेको छ ।
सात दिन चौबीसै घण्टा सिमा पैदल गस्ती कार्यक्रमबाट सिमा स्तम्भ र दशगजाको अबस्था अध्यावधिक गर्ने, सिमावर्ती ईलाकाको राजनैतिक, सामाजिक, धार्मिक, साँस्कृतिक स्थितीको बारेमा जानकारी गर्ने उद्देश्य रहेको सशस्त्र प्रहरी उपरिक्षक चन्दले जानकारी दिए ।
यस्तै सिमा क्षेत्रमा हुन सक्ने अपराधको अवस्था, राजस्व चुहावट नियन्त्रण र सिमा बासीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्नुका साथै सिमा सम्बन्धि आवश्यक सूचना हासिल गर्न सहजता हुने भएकाले यो अभियान सञ्चालन गरीएको उनले बताए ।
यस अभियानले बिपद जोखिम न्यूनीकरण, मानव बेचबिखन, लागू औषध तथा सिमा अपराध सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्नुका साथै स्थानीय जनप्रतिनिधि,अन्य निकाय र समकक्षीहरु संग भेटघाट तथा अन्तरक्रिया हुने छ ।