–खगेन्द्र गिरी कोपिला
अधिराजकुमारी त्रैलोक्य राज्यलक्ष्मी देवी शाहको जन्म श्री ५ त्रिभुवनकी जेठी पुत्रीको रुपमा माता श्री ५ कान्ति राज्यलक्ष्मी देवी शाहको गर्भबाट विक्रम संवत् १९७९ सालमा भएको थियो। जन्मिदा मूल परेर जन्मेको कारणले घरपरिवारलाई पीडा दिने योग रहेको भन्दै उनको पालनपोषण फुपु रमा राज्यलक्ष्मी राणाको घरमा भएको थियो।
जन्मकुण्डली मिलाएर मात्रै विवाह गर्ने चलन रहेको त्यो समयमा मूल परेर जन्मेको कारणले उनीसित विवाह गर्ने केटा नै पाइएनन्। बल्लबल्ल भारतको सिकर राज्यका राजकुमार हरदयाल सिंह उनीसित विवाह गर्न तयार भए। राजकुमार हरदयाल सिंहले पहिले विवाह गरेर पत्नीसित पारपाचुके गरिसकेका थिए। पारपाचुके गरिसकेको केटा भए पनि बल्लबल्ल भेटिएको केटा भएकोले उनीसित राजकुमारी त्रैलोक्य राज्य लक्ष्मी देवी शाहको विवाह गराउन तयार भयो राजपरिवार।
२००४ साल माघमा सिकर राज्यका राजकुमार हरदयाल सिंहसित विवाह गरेर नेपालकी अधिराजकुमारी त्रैलोक्य राज्यलक्ष्मी देवी शाह सिकर राज्यकी युवराज्ञी त्रैलोक्य राज्यलक्ष्मी देवी सिंह भएर राजस्थानको सिकर गइन्। राजकुमारी त्रैलोक्य आफ्ना पति राजकुमार हरदयाल सिंहभन्दा ८ महिना जेठी थिइन्।
तर विवाह भएको ६ वर्ष भैसक्दा पनि यो जोडीबाट संतान जन्मेनन्। अकस्मात २०११ साल असारमा राजकुमार हरदयाल सिंहको निधन हुन गयो। ३२ वर्षको उमेरमैं राजकुमारी त्रैलोक्य राज्यलक्ष्मी देवी सिंह बिधुवा भइन्। १५ वर्षसम्म राजकुमारी त्रैलोक्य आफ्ना सासुससुराको सेवा गर्दै सिकरमैं बसिन्। उनको परिवारमा अरु सदस्य कोही थिएनन्।
सासुससुराको निधनपछि राजकुमारी त्रैलोक्यले सिकर राजपरिवारको पुरै श्रीसम्पत्ति र दरवारलाई एउटा ट्रस्ट बनाएर दान गरिन्। सो ट्रस्टले संचालित गर्नेगरि उनले सिकरमा आफ्ना ससुरा र पतिको नाममा विद्यालय र अस्पताल खोलिन्।
२०२७ सालमा उनले आफूलाई सिकरमा दुलहीको रुपमा भित्राउँदा जुन ठाउँमा यज्ञवेदी बनाइएको थियो त्यही ठाउँको एकमुठी माटो र साथमा १२ वर्षको एकजना धर्मपुत्र ल्याएर माइती देश नेपाल फर्किइन्। त्यतिखेर राजकुमारी त्रैलोक्य ४८ वर्षकी थिइन्। ६७ वर्षको उमेरमा २०४६ साल पुसमा अधिराजकुमारी त्रैलोक्य राज्यलक्ष्मी देवी सिंहको माइती देशमैं निधन भयो।
राजकुमारी त्रैलोक्यको धर्मपुत्र भएका तिनै बालक राव विक्रम सिंह नै श्री ५ युवराज्ञी हिमानीका पिता हुन्। राव विक्रम सिंहले १३ वर्षको उमेरमा बझाङकी कन्या विपुला सिंहसित बिबाह गरेका थिए। विपुला सिंह मानवतावादी नेता जयपृथ्वीबहादुर सिंहकी भतिजी पर्छिन्।
प्रस्तुुत चित्र उनै अधिराजकुमारी त्रैलोक्य र उनका पति सिकर राज्यका राजकुमार हरदयाल सिंहको हो।