धनगडीः भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ जना नेपाली रहेको बताइएको छ।
भारतीय प्रहरी स्रोतका अनुसार सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। गाडी खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिमको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो।
उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेको थियो। दुर्घटनामा परी मृत्यु हुने सात जना भेरी अञ्चलको बबईका हुन्। उनीहरु दुर्घटनास्थल नजिकै सडक छेउमा पाइप बिछ्याउने काम गर्थे। उनीहरुको शव नैनीतालस्थित सरकारी अस्पतालमा राखिएको छ।
दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन्। बेतालघाटको उचकोट गाउँमा मृतकहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे।
काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए। मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् भने दुर्घटनामा दुई नेपालीहरू शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन्।
यस्तै दुर्घटनाबारे उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि चिन्ता व्यक्त गरेका छन्।