धनगढीः नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी अहिले धनगढीमा छन्। भर्खरै उनको उपस्थितिमा धनगढीमा पार्टीका सांसदहरूको छलफल सुरु भएको छ। नाउपा एक मन्त्रीको सरकारी निवासमा रेशमसहित सुदूरपश्चिमका ६ सांसद छलफलमा जुटेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नाउपा, रेशमलाल र उनकी पत्नी एवं पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीबीच विवाद रहेको थियो। रेशम सुदूरपश्चिममा काङ्ग्रेससँगै रहन चाहन्थे भने अध्यक्ष रन्जिता नयाँ सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्नेमा तयार थिइन्।
यसैबीचमा पार्टीभित्रको विवाद छताछुल्ल पनि भएको थियो। पार्टीमा कुटाकुटदेखि कारबाहीसम्मै विवादको सिलसिला पुगेकोमा सुदूरपश्चिम प्रदेशमा नाउपाकी एक सांसद इन्दिरा गिरी पदमुक्त नै भएकी थिइन् भने घनश्याम चौधरीलाई दलको नेताबाट हटाइएको छ।
विवाद चर्किरहेका बेला आज यी सबै विषयमा कुरा गर्दै साझा धारणा बनाउने गरी छलफल अगाडी बढिरहेको नाउपा नेताहरूले दाबी गरेका छन्।
छलफलमा सुदूरपश्चिममा पदमुक्त भएकी सांसद इन्दिरा गिरी पनि सहभागी छन्। त्यस बाहेक टिका थापा उपस्थित छैनन् भने अन्य सबै सांसदहरू एक छलफलमा देखिएका छन्।
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गते सम्मको समय दिएर सूचना जारी गरेका छन्। नाउपाको विवादका कारण अहिलेसम्म सरकार गठन प्रक्रिया अगाडि बढ्न सकेको थिएन।
सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बमुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ।