धनगढी : बझाङको बित्थडचिर गाउँपालिकामा दोस्रो कमल बोहरा स्मृति भलिबल तथा डेउडा प्रतियोगिताको सुरु भएको छ। नेकपा एमाले बित्थडचिर गाउँ कमिटीको आयोजनामा दोस्रो कमल स्मृति भलिबल तथा डेउडा प्रतियोगिता बुधबार बाट देउलेखमा सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले गरेको हुन। उद्घाटन समारोहका प्रमुख अतिथि जैसीले प्रतियोगिता आयोजकलाई धन्यवाद व्यक्त गरे । उनले सम्भव भएसम्म कमल स्मृती कोष स्थापना गरेर आगामी दिनहरुमा यस्तै रचनात्मक कार्यक्रमहरु आयोजना गर्न सुझाव दिए । साथै बित्थडचिरमा युवाहरुको खेलप्रतिको उत्साह देखेको बताउदै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे ।
यस्तै कार्यक्रमका अध्यक्ष तथा एमाले बित्थडचिर गाउँपालिका अध्यक्ष दिपेन्द्र बोहराले एमालेको एक बृहत कार्यक्रममा कमल बोहराको देहवशान भएको दिनको सम्झनामा यो प्रतियोगिताको सुरुवात गरिएको बताए ।
देवेश्वरी माध्यमिक विद्यालयका अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष कमल बोहराको स्मृति दिवसको अवसरमा बित्थडचिरका युवा खेलाडीहरुलाई प्रोत्साह गर्ने र स्थानीय कला संस्कृतिको संरक्षणको लागि प्रतियोगिता बार्षीक रुपमा प्रतियोगिता आयोजना गर्दै आइरहेको उनले बताए ।
प्रतियोगितामा गाउँपालिकाभित्रका १९ ओटा टिमको सहभागिता रहेको र चैत्र ३० सम्म खेल सञ्चालन हुने जानकारी दिए ।
प्रतियोगिताको विजेताले ४१ हजार १११ रुपैयाँ तथा तथा उपविजेताले २२ हजार ६११ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै तेस्रो हुने टोलीले नगद १२ हजार ४११ रुपैयाँबाट पुरस्कृत हुनेछन । खेल देवेश्वरी मावि देउलेखको खेलमैदानमा भइरहेको छ।
यस्तै भ्रष्टाचार अन्त्य गरौ, सभ्य समन्वत समाज निमार्णका लागि अघि बढौ भन्ने शिर्षकमा वडा स्तरीय महिला पुरुष डेउडा प्रतियोगिता समेत भइरहेको छ।
डेउडा प्रतियोगितामा विजेताले १० हजार १११, उपविजेताले ६ हजार प्राप्त गर्नेछन्। यस्तै तेस्रो हुने टोलिले ३ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बोहराले बताए।