धनगढी: सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अन्योलमा परेको छ। अल्पमतमा परेका मुख्यमन्त्री शाहले केही समय अगाडि पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि नेकपा माओवादी केन्द्रसहितको नयाँ सत्ता समीकरणले सुदूरपश्चिममा नयाँ सरकार गठनको कोर्स थालेको छ। जसमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री माग गरेको छ। माग मात्रै होइन, केन्द्रिय सत्ता गठबन्धनमा मुख्यमन्त्री पाउने समझदारी नै बनेको नाउपाको दाबी छ।
संघमा बनेको समीकरण अनुसार सुदूरपश्चिम प्रदेशमासमेत एमाले, माओवादी, नाउपा र एकीकृत समाजवादीको गठबन्धनलाई निरन्तरता दिएर आलोपालो सरकार सञ्चालन गर्ने समझदारी भएको बताइएको हो।
नाउपाका केन्द्रीय सदस्य दामोदर पण्डितले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने गठबन्धनमा सहमति भएको बताए। उनका अनुसार मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएर सुदूरपश्चिममा सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने लिखित समझदारी नै भएको छ।
नाउपाले प्रदेश सभा सदस्य कैलाश चौधरीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने समेत पण्डितले बताएका छन्।
कैलाश नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ निकट मानिन्छन्। श्रेष्ठले हालै प्रदेश संसदीय दलको नेताबाट आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीको जिम्मेवारी खोसेकी थिइन्। उनको ठाउँमा कैलाशलाई नियुक्त गरेको पत्र प्रदेश सभा सचिवालयमा पठाए पनि सभामुख भीमबहादुर भण्डारीले निर्णय लिएका छैनन्।
राजनीतिक समीकरण फेरिएपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नयाँ गठबन्धनसँगै जाने भन्ने विषयमा पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद चर्किएको थियो।
कमलबहादुर शाह नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने अडानमा रेशम चौधरी थिए। यहीँ कारण नाउपाका ५ जनालाई शाहले मन्त्री बनाएका थिए। तर पार्टीको निर्देशन नमानेको भन्दै अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई कारबाही गर्दै पदमुक्त गरेकी थिइन्।