बझाङ: बझाङको बित्थडचिर गाउँपालिकामा दोस्रो कमल बोहरा स्मृति भलिबल प्रतियोगिताको उपाधी ज्वलन्त युवा क्लबले जितेको छ। नेकपा एमाले बित्थडचिर गाउँ कमिटीको आयोजनामा बुधबारदेखि देउलेखमा सुरु भएको प्रतियोगिताको फाइनल खेलमा चिरासैनी युवा क्लबलाई ३-० सेटले हराउँदै ज्वलन्तले उपाधी जितेको हो।
प्रतियोगिताको विजेता ज्वलन्त युवा क्लबले ४१ हजार १११ रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता हुने चिरासैनी युवा क्लबले २२ हजार ६११ रुपैयाँ र तृतीय हुने बौनाली टाइगरले १२ हजार ४११ रुपैयाँ प्राप्त गरेका छन्।
देवेश्वरी मावि देउलेखको खेलमैदानमा भएको प्रतियोगितामा गाउँपालिकाभरका १९ ओटा टिम सहभागी थिए। प्रतियोगिताको समापन समारोहमा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बित्थडचिर खेलकुदका लागि उर्वर भूमि रहेको बताए। उनले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने बताए। खेलाडीहरुमा अनुशासन र लगनशीलता जरुरी रहेको बताउदै सहभागी सबै टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको उनले बताए।
यस्तै कार्यक्रमका अध्यक्ष तथा एमाले बित्थडचिर गाउँपालिका अध्यक्ष दिपेन्द्र बोहराले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।
उनले बित्थडचिर गाउँपालिकाले खेलकुदको बजेटमा कर्मचारी नियुक्त गरेर तलबभत्ता खुवाइरहेको र हालसम्म एउटा प्रतियोगिता समेत गर्न नसकेको बताए। साथै आगामी बर्ष बित्थडचिरमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरे।