धनगढी: टिकापुर नरसंहारमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट माफी पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीकी पत्नी एवं पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ (चौधरी) ले एकपछि अर्को गर्दै सुदूरपश्चिममा प्रदेश सांसदलाई कारबाही गर्न थालेपछि विवाद थप चुलिएको छ।
रेशमलालले बनाएको नागरिक उन्मुक्ति पार्टीभित्र कारबाहीको सिलसिलाले पार्टीका नेता तथा प्रदेश सांसदहरु आक्रोशित बनेका छन्। पार्टीमा रेशमलाल (पति) र पत्नी (रन्जिता) कै विवादका कारण कारबाहीको सिलसिला अगाडी बढेपछि नेता, कार्यकर्तासमेत चेपुवा र गुटबन्दीमा परेका हुन्।
एक महिनायताको विवादमा पार्टीका संरक्षक रेशम चौधरीका पक्षमा देखिएका प्रदेश सांसद र अन्य नेतालाई अध्यक्ष रन्जिताले भटाभट कारबाही गर्न थालेकी छन्। त्यसपछि विवाद पनि झन बल्झिदै गएको छ।
चैत २१ गते रेशमलाल पक्षीय समानुपातिक प्रदेश सांसद एवं सुदूरपश्चिम प्रदेश सरकारकी राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गरेकी अध्यक्ष रन्जिताले चैत २६ गते रेशम पक्षीय घनश्याम चौधरीलाई दलको नेताबाट हटाएर आफू पक्षीय कैलाश चौधरीलाई दलको नेता तोकेको पत्र पठाइन्।
यति गर्दा पनि रेशमकै पक्षमा बहुमत सांसद भएपछि हिजो (शुक्रवार) अध्यक्ष रन्जिताले संसदीय दलका नेतासमेत रहेका घनश्यामलाई ३ महिनाका लागि सांसद पदबाटै निलम्बन गरेको पत्र पठाइन्।
तथापी नाउपा अध्यक्ष श्रेष्ठले प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीसमेत रहेका घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाएको पत्र सभामुखलाई प्रेषित गरे पनि प्रभावहीन भएको बताइन्छ। सभामुख भीमबहादुर भण्डारीले कानुनी तवरले हाल पनि घनश्याम नै दल नेता रहेको जनाएका छन्।
यसैक्रममा एकपछि अर्को पत्र पठाउँदै कारबाहीको सिलसिला थालेपछि रेशम पक्षीय नेता तथा सांसदहरु निकै आक्रोशित भएका हुन्। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीसमेत रहेका लक्ष्मणकिशोर चौधरीले अध्यक्षको मानसिक असन्तुलनसमेत रहेको छ कि भन्ने शंका गर्ने बेला आएको बताएका छन्।
उनले आफ्नै सांसदलाई भटाभट कारबाही गरेर अध्यक्षले बहादुरी देखाउन खोजेको पनि जनाए।
उनले भने, ‘उनलाई कसैले उक्साइराखेको छ, अध्यक्षको मानसिक सन्तुलन ठीक छ कि छैन चेक गर्नुपर्ने भयो।’
यस्तै चौधरीले अध्यक्षको ज्यादती अध्याधिक बढेको भन्दै उनले न्यायका लागि सबैलाई सहयोग गर्न आग्रह गरे।
स्रोतका अनुसार यसअघि नाउपा अध्यक्ष श्रेष्ठद्वारा पदमुक्त भएकी तत्कालीन राज्यमन्त्री समेत रहेकी समानुपातिक सांसद इन्दिरा गिरीले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर समेत गरिसकेका छन्।
नाउपाभित्र यतिबेला विवाद चर्किएको छ।
फागुन २१ मा नयाँ सत्ता गठबन्धन बनेपछि पार्टी संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष श्रेष्ठबिच सुदूरपश्चिम सरकारमा जानेबारे मतभिन्नता बढेपछि उग्र रूप लिएको हो।
अध्यक्ष श्रेष्ठ केन्द्रकै सत्ता समीकरणलाई समर्थन गरेर जानुपर्ने पक्षमा छिन् भने चौधरी सुदूरपश्चिममा काँग्रेसलाई समर्थन गरेर जानुपर्ने पक्षमा थिए। नाउपाको विवादकै बिच मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकार ढलेको थियो। सरकार ढलेपछि सुदूरपश्चिममा भोलिसम्ममा सरकार बनाउन प्रदेश प्रमुखद्वारा आह्वान गरिएको छ। यहाँको संसद्मा नाउपा निर्णायक छ।