धनगढी: सशस्त्र प्रहरी बल नेपालको डोटीस्थित गणका प्रमुख (एसपी) नीलकमल आचार्य हाजिर भएको दुई महिनामै फिर्ता भएका छन्। आचार्य केही दिन अगाडि नै डोटी छोडेर गएको बताइएको छ।
एउटा डाक्टरी कागज बनाएर स्वास्थ्य समस्या देखाउँदै उनी सरुवा मागेर गएका हुन्। उनले हेडक्वार्टरसँग सरुवा मागेर गएपछि डोटीमा उनको सट्टा सुधीर सुवेदी पठाइएका छन्।
सुवेदी केही दिनमा डोटी आइपुग्ने सशस्त्रको सुदूरपश्चिमस्थित मुख्यालयका प्रवक्ता एसएसपी रमेश कुमार पाण्डेयले महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार तत्कालीन एसपी आचार्यले ढाडमा समस्या देखिएको भन्दै डोटीबाट सरुवा मागेका थिए।
तर स्रोतका अनुसार उनलाई खासमा कुनै स्वास्थ्यसम्बन्धी समस्या थिएन। उनले त्यहाँ निर्धारित दरको राशनले तैनाथ सबै फौजलाई खुवाउन नपुग्ने र कम्तिमा ४० जना कर्मचारीलाई बिदा नछोड्दा ब्यारेक चलाउनै नपुग्ने समस्या देखिएपछि सरुवा मागेका हुन्। तर, विभागबाट १५ प्रतिशतभन्दा बढीलाई बिदा छाडिए सम्बन्धित कमाण्डरमाथि कारवाही हुने व्यवस्था छ।
त्यसमा पनि सकेसम्म १५ प्रतिशत नपु¥याउनु, १० प्रतिशतसम्म भए ठीकै भनिएको हुन्छ। यसअनुसार डोटीको दिपायलमा तैनाथ फौजलाई खुवाउन नसकिने, कि त आफ्नो तलबसमेत त्यसैमा हाल्नुपर्ने भयो। यस्तो भएपछि एसपीले सरुवा मागेको बुझिएको छ।
डोटीमा मात्र होइन, अन्यत्र पनि यस्तो समस्या देखिदै आएको छ। तर यसको समाधानबारे भने सरकार एवं गृहमन्त्रालयले खासै चासो नदिएको बताइन्छ।