धनगढी: सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिसक्नुपर्ने छ। दाबी पेशका लागि दिइएको समय सीमा आज आइतबार सकिदैछ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले अल्पमतमा परेर पदबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानकाे धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
प्रदेश प्रमुखले सरकारमा दाबी पेश गर्न दिएकाे समय आइतबार साँझ ५ बजे सकिने भएपनि अहिलेसम्म कसैले पनि दाबी गरेका छैनन्।
सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा पुगेकाे नाउपालाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको छ।
तर नाउपाभित्र मुख्यमन्त्रीका रूपमा कसलाई अघि बढाउने भन्ने विषयमा विवाद हुँदा ढिलाइ भएकाे छ।
गठबन्धनले आइतबार साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्ने जनाएको छ। नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीका रूपमा अघि सारिने गठबन्धनमा आवद्व एक सांसदले बताए।
नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले भने आइतबार कैलाश चाैधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुने बताए।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ काठमाडौबाट धनगढी पुगेपछि सरकारमा दाबी पेश गरिने जनाइएको छ।
सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ। कांग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नाउपाकी इन्दिरा गिरी पदमुक्त छिन्। यहाँ बहुमत पुर्याउन २७ सांसद चाहिन्छ।
नयाँ सत्ता गठबन्धनका सभामुख बाहेक माओवादी केन्द्रका १०, एमालेका १० नाउपाका ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। स्वतन्त्र सांसद डा.तारा जोशी पनि यही गठबन्धनमै रहन चाहने बताइन्छ। यसरी बहुमत पुग्छ तर, नाउपाको विवाद अझै सुल्झिएको छैन।
नाउपाकै विवादका कारण सरकारमा दाबी पेश गर्न ढिलाइ भइरहेको बुझिएको छ।
नागरिक उन्मुक्ति पार्टीबाट मुख्यमन्त्री पाउँदा कसलाई बनाउने भन्ने विषयमा विवाद देखिएको हो। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने गरि अघि सारेकी छन् भने चार सांसदले लक्ष्मण किशोर चौधरीको नाममा सहमति गरेका छन्।
यता नेकपा एकीकृत समाजवादीले पनि नाउपा भित्र विवाद रहेको र सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो मुख्यमन्त्री हुनुपर्ने जबरजस्त अडान राखेको छ।
एमाले र माओवादी भने सुदूरपश्चिम प्रदेशमा नेतृत्व गर्ने भन्ने विषयमा लागेका छैनन्।
योसँगै आज बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरू बसेर सुदूरपश्चिमको विषयमा टुङ्गो लगाउने नेताहरूले दाबी गरेका छन्।