धनगढी: सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिएको छ। पारिवारिक भेटघाटका क्रममा डोटी आएका प्रधानन्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो।
लामो समयदेखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत उच्च सम्मानका साथ उनलाई वैशाख २ गते सदरमुकाम सिलगढीमा नागरिक अभिनन्दन गरिएको हो। दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजयसिंह खड्काले नागरिक अभिनन्दन गरिएको जनाए। उनले प्रधानन्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट पहिलोपटक प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा पुगेको बताए।
प्रधान न्यायाधीश श्रेष्ठलाई शैलेश्वरी मन्दिरको प्राङ्गणमा स्थानीय बाजागाजाका साथ डोटेली सांस्कृतिक कार्यक्रमसहित अभिनन्दन गरिएको हो।
विसं २०१६ असोज २० गते कैलालीमा जन्मेका श्रेष्ठको पुख्र्यौली घर डोटीको सिलगढी बजारमा हो। शाखा अधिकृतका रूपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएका उहाँ २०८० भदौ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएका थिए।