धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) कै २ सांसदले दाबी प्रस्तुत गरेका छन्। प्रहिलो लटमा लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका छन् भने दोस्रो लटमा कैलास चौधरीले दाबी प्रस्तुत गरेका छन्।
लक्ष्मणले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नाउपा (रेशम चौधरी पक्ष) संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित केही बेरअघि प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए।
केन्द्रमा एमाले-माओवादी गठबन्धनमा रहेर दुई मन्त्री पाएको एकीकृत समाजवादी कांग्रेसतिर लागेपछि सुदूरपश्चिमको सत्ता राजनीति थप पेचिलो बनेको छ। केन्द्रको निर्देशनविपरित समाजवादीका नेताहरुले लक्ष्मण किशोरलाई समर्थन दिएको र अध्यक्ष माधव नेपालले फोन गरेर एमाले-माओवादी गठबन्धनमै रहन निर्देशन दिएको बुझिएको छ।
उता, केहीबेरपछि नाउपाकै कैलाश चौधरी पनि मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए। अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका उनले केन्द्रीय सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी गरेका छन्।
आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पहिलो एक वर्षका लागि सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिने सहमति गरेको थियो। कैलाश्लाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ। कांग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नाउपाकी इन्दिरा गिरी पदमुक्त छिन्। यहाँ बहुमत पुर्याउन २७ सांसद चाहिन्छ।
प्रदेश प्रमुख नजिर मियाँले आवश्यक परे सांसदहरूको हस्ताक्षर सनाखत गर्न सकिने संकेत गरेका छन्। एकै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा केही समय लाग्ने देखिएको छ।