धनगढी: सुदूरपश्चिममा नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी(नाउपा) लाई समर्थन गर्ने निर्णय गरेको छ।
अल्पमतमा परेर राजीनामा दिई काम चलाउ सरकारका मुख्यमन्त्री समेत बनेका प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले नाउपालाई समर्थन गर्ने निर्णय गरेको हो।
कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए भने नाउपाकै कैलाश चौधरीले एमाले–माओवादी र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेश गरेका थिए।
एउटै पार्टीबाट दुई जनाको दाबी परेको भन्दै प्रदेश प्रमुख नजिर मियाँले तत्काल कुनै निर्णय लिएका छैनन्। मियाँले दुवै पक्षलाई कानुनी परामर्श गर्ने र आवश्यक परेमा सांसदको सनाखत गर्ने जवाफ दिएका थिए।
सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ। कांग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो। यहाँ बहुमत पुर्याउन २७ सांसद चाहिन्छ। एकै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा केही समय लाग्ने देखिएको छ।