धनगढी: सामाजिक सञ्जालमा नेकपा एमाले नेता ऐन महरसँग नाम जोडिदै चर्चामा आएकी रश्मिला कुमारी धामी पक्राउ परेकी छन्। बझाङ स्थायी घर भएकी धामीलाई प्रहरीले हिजो (आइतबार) काठमाडौंबाट पक्राउ गरेको हो।
साइबर व्युरो स्रोतका अनुसार उनलाई पक्राउ गरेर आज म्याद थप गर्ने तयारी भैरहेको छ।
अनेरास्ववियुकी निलम्बित स्थायी कमिटी सदस्य राजमती बम उर्फ रक्षाले धामीविरुद्ध विद्युतीय कारोबार अन्तरगत मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दामा अदालतले दोषी ठहर गरेपछि साइबर ब्युरोले उनलाई समातेको हो।
यस्तै उनीविरुद्ध हालसालै पनि सोही प्रकृतीको मुद्दा परेको थियो। अहिले प्रहरीले दुबै मुद्दाको कारबाही अगाडि बढाएको जनाइएको छ।
पहिले बमले दायर गरेको मुद्दामा भने जिल्ला अदालत काठमाडौंले गत फागुन ३० गते रश्मिला धामीलाई साइबर अपराधमा दोषी ठहर गर्दै ७ दिन कैद,३० हजार जरिवाना र पीडितलाई डेढ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो। सो फैसलाको पूर्णपाठ नआउँदै धामीले सामाजिक संजालमार्फत पुनः आपत्तिजनक ढंगले अर्को व्यक्तिको चरित्रहत्या गरेको आरोप लागेको छ।
धामीले यसअघि बमविरुद्ध पनि आपराधिक लाभ लिएको मुद्दा दायर गरेकोमा बम थुनिएर छुटेकी थिइन्।