धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी नेकपा माओवादी केन्द्र, एमालेसहितको गठबन्धनमै फर्किएको छ। हालको सत्ता गठबन्धनका चार दलहरुबीच समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने सहमति भएपछि फिर्ता भएको हो।
यस अगाडि समाजवादीले काङ्ग्रेससहितको समीकरणमा नाउपाका लक्ष्मण किशोर चौधरी (रेशम पक्ष) लाई समर्थन दिएकोमा समर्थन फिर्ता लिएको छ।
समाजवादीका नेता दीर्घ सोडारी आफैं प्रदेश प्रुमुखको कार्यालयमा पुगेर समर्थन फिर्ता लिएका हुन्।
बैशाख २ गते नेपाली काँग्रेस, समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। काँग्रेस १८, समाजवादी ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको दाबी पेश गरेका थिए।
समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिने भएपछि अब लक्ष्मणकिशोरसँग २५ जना प्रदेश सभा सदस्य बाँकी रहन्छन्। तर उनकै पार्टीका ७ जना मध्ये २ जना उनलाई समर्थन नगर्ने पक्षमा छन्। बैठकमा समाजवादीले समर्थन फिर्ता लिने निर्णय भएपछि, कुनै पनि दाबीकर्ताको स्पष्ट बहुमत नभएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीका लागि थप समय दिनसक्छन्।
बैशाख २ गते नागरिक उन्मुक्तिकै कैलाश चौधरी (रन्जिता पक्ष) ले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। स्रोतका अुनसार कैलाशले पनि आफ्नो दाबी फिर्ता लिने सहमति भएको छ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन्। सरकार बनाउनका लागि २७ जनाको बहमुत आवश्यक पर्छ। समाजवादीसँग अब माओवादीका ११, एमालेका १०, आफ्ना ४, एक जना स्वतन्त्र र २ जना नागरिक उन्मुक्तिका भएपनि सरकार बनाउने सम्भावना बलियो बनेको छ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले अल्पमतमा परेर पदबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानकाे धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।