धनगढी: सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन्।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुन: २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन्।
मियाँले संविधानकाे धारा १६८ काे (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएकाे प्रदेश प्रमुखकाे कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए।
नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री दाबी पेश गरेका लक्ष्मणकिशोर रेशम पक्षका हुन भने कैलाश रञ्जीता पक्षका हुन्। ७ जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्तिभीत्र ५ जना रेशमको पक्षमा र २ जना रञ्जीताको पक्षमा देखिएका छन्।
यसअघि मंगलबार दिउँसो नेकपा एकीकृत समाजवादीले पनि लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन्। काँग्रेस १८, माओवादी सभामुख सहित ११, नेकपा एमाले उपसभामुख सहित १०, नागरिक उन्मुक्ति पार्टी ७, समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना सदस्य छन्। सरकार बनाउनका लागि २७ जनाको बहमुत आवश्यक पर्छ।