धनगढी : सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशन बिना कसैलाई समर्थन नगर्ने बताएका छन् ।
रावलले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने बिषयमा आफुलाई पार्टी नेतृत्वको निर्देशन नआएको बताएका हुन । उनले आफुलाई पार्टी नेतृत्वबाट आधिकारिक रूपमा निर्देशन आएपछि मात्रै मुख्यमन्त्रीको लागि संसदीय दलले निर्णय गर्ने दाबि गरेका छन् ।
नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले वैशाख ४ गते दिउँसो सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने समझदारी जुटाएका थिए । सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीलाई बिच्किन नदिन उनीहरूले सो निर्णय गरेका थिए।
सोहीअनुसार नाउपाका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेका एकीकृत समाजवादी संसदीय दलका नेतासमेत रहेका दीर्घ सोडारी मुख्यमन्त्री दाबी पेस गर्ने तयारीमा छन्।
तर, गठबन्धनको प्रमुख दल एमालेले उनको नाममा सहमति जनाएको छैन। मंगलबार दिउँसो एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भए पनि सोडारीलाई स्वीकार गर्न नसक्ने अडान एमालेले लिएपछि सुदूरपश्चिमको सत्ता राजनीति अनिश्चयमै छ।