काठमाडौं । कोशी प्रदेशसभाको आज बैठक दिउँसो १ बजे बस्दैछ ।
चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए।
कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि अब के हुन्छ भन्ने अन्योल कायमै छ।
मुख्यमन्त्री कार्कीले आफूले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने जिकिर गरेका छन । तर कानुनविद्हरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने दाबी गरेका छन ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू मुख्यमन्त्री बनेकाले पुनः विश्वासको मत लिन नपर्ने दाबी गरिरहेका छन्।
एक पटक विश्वासको मत लिएपछि दुई वर्षभित्रै राजीनामा माग्नु संवैधानिक प्रावधान विपरित हुने तर्क उनको छ।
गठबन्धन दलहरु मुख्यमन्त्री कार्कीलाई मार्गप्रसस्त गर्न सुझाव दिइरहेका छन्। एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सरकार स्पष्टरुपमा अल्पमतमा परिसकेको देखिएकाले कि विश्वासको मत लिनुपर्ने अन्यथा राजीनामा दिनुपर्ने बताए।
नेपाली कांग्रेसका केदार कार्की एमालेको समर्थनमा गत असोज २७ मा मुख्यमन्त्री बनेका हुन्। तर एमाले र माओवादीले गत चैत २६ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए। अल्पमतमा परेका मुख्यमन्त्रीले राजीनामा नदिएपछि एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव दर्ता गरेका हुन ।
संकल्प प्रस्तावमा वैशाख २५ गतेभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने या राजीनामा दिनुपर्ने उल्लेख छ।