काठमाडौं: नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) का ३ पद रिक्त भएका छन्। तत्कालीन दुई डीआइजीको एआइजीमा बढुवा र एक डीआइजी अनिवार्य अवकाशमा गएपछि ३ पद रिक्त बनेका हुन्।
यस अगाडि ५ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी र ७ गते (आज) देखि एआईजी मिरा चौधरी अनिवार्य अवकाशमा गएका छन्। यस्तै प्रहरी नायब महानिरीक्षक (डिआईजी) विकासराज खनाल पनि अनिवार्य अवकाशमा गएका हुन्।
एआइजीद्वय भण्डारी र चौधरीको अवकाशसँगै उनीहरूको स्थानमा डीआईजीद्धय उमेशराज जोशी र भीमप्रसाद ढकाल बढुवा भएका छन्। तर, उनीहरुलाई दर्ज्यानी चिन्ह लगाउन बाकी छ।
योसँगै रिक्त बनेका ३ डीआइजी पदमा पदपूर्ति एवं ३ एसएसपीको बढुवा गर्ने तयारी थालिएको छ।
स्रोतका अनुसार रिक्त तीनवटा डीआईजी पदको दर्जनबढी एसएसपीको टोली प्रतिस्पर्धामा छ। जसमा आईजीपी कुँवरकै ब्याचमेट दिल्लीराज बिष्ट, कृष्णहरि शर्मा पोखरेल, ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द प्रतिस्पर्धामा छन्।
यस्तै पछिल्लो ब्याच ०५४ मा सेवा प्रवेश गरेका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, दानबहादुर कार्की, ओम रानालगायतका अधिकृत डीआइजी बन्ने प्रतिस्पर्धामा छन्।