धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र सञ्चालित क्यासिनोले भारतबाट मदिरा तस्करी नगराएको प्रष्ट पारेको छ। क्यासिनोका प्रतिनिधि सुर्यकमल श्रेष्ठ (हिमाल) ले मदिरा तस्करी नगराएको दाबी गरेका हुन्।
उनले मदिरा तस्करीमा आफ्नो कम्पनीमा कार्यरत कुनै पनि कामदारको कुनै पनि प्रकारको संलग्नता नरहेको जनाएका छन्। सो विषयमा महेन्द्रनगरपोष्टद्वारा प्रेसित समाचारलाई समेत उनले आधारविहीन भनेका छन्। तर महेन्द्रनगरपोष्टले सो विषयमा भारतीय प्रहरीको भनाई र तस्करीको मदिरासहित पक्राउ परेकाहरुको बयानसमेत समेटेर समाचार प्रकाशन गरेको थियो।
जसमा भारतीय प्रहरीले भारतको खटिमाबाट महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा मदिराको तस्करी गरेर बेचविखन हुने गरेको खुलासा गरेको थियो। तत्कालीन समयमा प्रहरीले नरेन्द्र शाह र सुर्यकमल (हिमाल) श्रेष्ठले सञ्चालन गरेको उक्त सिएमजी ग्यामिङ क्लब (क्यासिनो) का लागि आइरहेको तस्करीको मदिरा तस्करसहित समातेको जनाएको थियो।
चम्पावत जिल्लाका प्रहरी उपरीक्षक अजय गणपतिनाले २ जना मान्छेसहित चम्पावत जिल्लाको प्रहरी चौकी बनबासा इलाकाबाट ५ पेटी (६० बोतल) अङ्ग्रेजी मदिरा र डिजायर कारसमेत बरामद गरेको जनाएका थिए। बनबासाका प्रहरी थाना प्रमुख लक्ष्मणसिंह जगवान र एसओजी इन्चार्ज मनिष खत्रीको नेतृत्वको टोलीले नेपाल–भारत सडकखण्डमा रहेको प्रहरी चौकी बनबासाको नहर स्कुल मोडमा संयुक्त चेकजाँच गर्दा उनीहरू २ जनालाई पक्राउ गर्दै मदिरा र गाडी बरामद गरेको थियो। पक्राउ पर्नेमा खटिमाका २८ वर्षीय नजमुल हसन र ३२ वर्षीय रियाज अहमद रहेका थिए।
उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरूको युके १७ डी ४४५२ नम्बरको गाडीको डिग्गीमा विदेशी (अङ्ग्रेजी) मदिरा फेला परेको थियो। जसमा रेड, ब्ल्याक लेभलहरु समेत रहेको बताइएको थियो। पक्राउ परेका उनीहरू दुबैले प्रहरीलाई बयानका क्रममा आफूहरुले ओपेराको क्यासिनोमा मदिरा तस्करी गर्ने गरेको बताएका थिए। प्रहरीले बरामद गरेको करिब २ लाख बढीको विदेशी मदिरा क्यासिनोकै भएको जानकारी दिएको थियो।
र, यो पनिः भारतबाट मदिरा तस्करी गराउने ओपेराको क्यासिनोमा आगलागी
भारतबाट महेन्द्रनगर ओपेराको क्यासिनोमा लाखौंको मदिरा तस्करी
महेन्द्रनगरको ओपेरा होटलमा रेड मार्किङ !
सरकारी जग्गामा महेन्द्रनगरको ओपेरा होटलको रजगज