काठमाडौं: गृहमन्त्रीका कारण एक युवकले विष सेवन गरेको पाइएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कमेन्ट गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएपछि युवकले विष सेवन गरेका हुन्।
जाजरकोटका गणेशमान सिंह ठकुरीलाई गृहमन्त्री लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा
प्रहरीले केरकार गर्दा उनले नेपाल प्रहरीको साइबर ब्यूरोको ढोकामै ‘औषधी’ सेवन गरेका हुन्।
आफूले गृहमन्त्री लामिछानेका विरुद्धमा एक फेसबुक पेजमा गरेको कमेन्टकै आधारमा साइबर ब्यूरोले टर्चर दिँदा ब्यूरोकै गेटमा ‘औषधी’ सेवन गरेको भन्दै उनले दिएको अभिव्यक्तिको भिडियो पनि सार्वजनिक भएको छ।
उक्त भिडियोमा आफूले लामिछानेको विरुद्धमा अभिव्यक्ति दिएकै भरमा साइबर ब्यूरोले हजारौं प्रश्न सोधेर ६/७ वर्ष सम्म जेल हाल्ने चेतावनी दिँदै सहकारी ठगेको प्रमाण के छ ? गृहमन्त्रीलाई चिन्छस् ? जस्ता प्रश्न सोधेपछि मानसिक यातना दिएपछि बाध्य भएर ‘औषधी’ सेवन गरेको जनाएका छन्।
सिंहले ‘औषधी’ सेवन गरेपछि तत्कालै वीर अस्पताल लगिएकोमा उनलाई आईसीयूमा राखेर उपचार गराउनुपर्ने भएपछि वीर अस्पतालमा आईसीयू नभएपछि हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
लोकसेवा आयोगले लिने परीक्षाको तयारी गरिरहेका सिंहले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। सिंहले सहकारी ठगीको विषयमा गृहमन्त्री लामिछानेको नाम जोडिएपछि उनले प्रष्टीकरण दिनुपर्ने भन्दै कसैले सामाजिक सञ्जालमा गरेको पोस्टमा सहमति जनाउँदै प्रतिक्रिया दिएका थिए।
यसबारेमा साइबर ब्यूरोले भने सोधपुछका लागि बोलाइएको तर त्यसपछि उनले के गरे भन्ने विषयमा जानकारी नआएको जनाएको छ। यस्तै ब्यूरोले ती युवकलाई इलामको कुनै एक होटलको बारेमा अनर्गल कुरा लेखेको उजुरीपछि सोधपुछका लागि बोलाइएको दाबी गरेको छ।
पछिल्लो समय आफ्नो विरोध गर्नेहरुलाई प्रशासन लगाएर कारबाही गराउन गृहमन्त्री लामिछाने लागेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाई छ। लामिछानेविरुद्ध सहकारी ठगीका कैयौं आरोप लागिरहेका बेला उनको सञ्जालमा चर्को आलोचना हुँदै आएको देखिन्छ। तर रविले भने गल्ती स्वीकार्नु भन्दा पनि आम सर्वसाधारणको वाक स्वतन्त्रतामात्र अंकुश लगाउन खोजेको देखिन्छ।
यतिमात्र होइन, विगतमा हालका गृहमन्त्री लामिछानेको नाम लिएर यसअघि नुवाकोटका शालिकराम पुडासैनीले आत्महत्या नै गरेका थिए। सो प्रकरणमा लामिछानेलाई प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा पनि चलाएको थियो।