काठमाण्डौ : दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडियो सामाजिक संजालमा भाइरल छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्ती खगेन्द्र र रुद्रकलीलाई कतार लैजाँदै भनेर भावुक गीत, धुन र ‘क्याप्सन’ लेखिएका ती भिडियो तपाईंले पनि देख्नु भएको होला । नेपाली कांग्रेसका महासमिति सदस्य सुरेन्द्र सिंह ऎरले पनि ‘रुद्रकली र खगेन्द्र ट्रक चढेर एयरपोर्ट जाँदै कतार जान’ भन्दै लेखेर उक्त भिडियो सेयर गरेका छन् ।
उनी जस्तै धेरैले उक्त भिडियो धेरैले सेयर गर्दा भाइरल बनेको छ । कतार पठाउन लागिएको हात्तीलाई ट्रकमा राखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र फोटो झुटो भएको थाहा भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले दिनुभएको जानकारीअनुसार ती हात्ती निकुञ्जभित्र पहिले राखिएको ठाउँमै छन् ।
कतार पठाउने प्रक्रिया पूरा नहुँदासम्म ती हात्ती निकुञ्जमै रहने उहाँले स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालमा देखिएका ती हात्ती नेपालका नभएको पनि उहाँले जानकारी दिनुभयो ।
थाइल्यान्डको एक फेसबुक पेजले उक्त भिडियो पहिलोपटक हालेको देखिन्छ । भिडियोमा देखाइएका ती तालिमप्राप्त हात्तीलाई ट्रकमा अन्य स्थानमा लगेको देखिन्छ ।
कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्तीलाई कतै पठाइएकै छैन । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती हात्ती गएका छैनन् ।
ती खगेन्द्र र रुद्रकली नामका हात्ती निकुञ्जभित्रनै रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।