धनगढी: कञ्चनपुरमा रेष्टुरेन्ट सञ्चालकसहित पक्राउ परेका ११ जना जुवाडे धरौटीमा छुटेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका—६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाँउमा सञ्चालन गरेको कालिका रेष्टुरेन्टबाट पक्राउ परेका सिंहसहितका ११ जना जुवाडे धरौटीमा छुटेका हुन्।
हिजो उनीहरू जिल्ला प्रशासन कार्यालयमा ५/५ हजार धरौटी बुझाएर थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी उमेशराज जोशीले महेन्द्रनगरपोष्टलाई बताए।
अस्ति प्रहरीले नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी समेत रहेका भीमदत्त नगरपालिका-६ घर भएका सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलका पुत्र निरज रावलसहितलाई जुवाखालबाट समातेको थियो।
रावलको प्रदेश प्रहरी कार्यालय हेटौडा दरबन्दी रही काजमा महेन्द्रनगरको गड्डाचौकी हेर्नेगरी खटाइएका थिए।
उनै रावलसहित भीमदत्त नगरपालिका-६ का डम्मर भट्ट, धर्मराज जोशी, भीमदत्त नगरपालिका-७ का बलदेव भट्ट, भीमदत्त नगरपालिका-४ का राजेश सोनी, भीमदत्त नगरपालिका-१९ का अमिर बिष्ट, कोहलपुरका सुरत बहादुर शाही, शुक्लाफाटा रामदत्त भट्ट, भीमदत्त नगरपालिका-१८ का आशिष खत्री र वडानम्बर ५ का धिरेन्द्र बहादुर सिंहलाई प्रहरीले जुवाखालबाट समातेको थियो।
उनीहरु रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा समातिएका थिए। उनीहरूबाट ५७ हजार ३२९ नगद र १३१ पत्ति तास बरामद गरिएको थियो।