धनगढी : कैलालीमा सुधार गृहमा राखिएका एक युवककाे शंकास्पद मृत्यु भएकाे छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिका-४ भालुफाटाकाे नयाँ बाटाे पुर्नस्थापना सुधार केन्द्रमा साेही ठाउँ २ का २५ वर्षीय सुनिल शाहीकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिप्रेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनकाे छतबाट बुधबार राति हाम फालेकाे बताए ।
छतबाट हाम फालेर गम्भीर घाइते भएका शाहीकाे उपचारका क्रममा घाेडाघाेडी अस्पतालमा उपचारका क्रममा मृत्युु भएकाे बताए ।
शाहीकाे निधार, गर्धन, कम्मर र दुवै हातमा चाेट लागेकाे देखिएकाे बताए । डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उदेश्यले भवनकाे छतबाट हाम फालेकाे बुझिएकाे बताउँदै घटनाबारे अनुसन्धान जारी रहेकाे बताए ।
तर, मृतकका परिवारले भने घटनाकाे प्रकृति हेर्दा शाहीकाे भवितव्य नभएर हत्या गरिएको आराेप लगाएका छन् ।
मृतकका बुवा धनराज जाेशीले छाेराकाे हत्या गरेकाे भन्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।
उनले सुधार केन्द्रले विगत २५ दिनदेखि छाेरालाई भेटघाट गर्न नदिएकाे दाबी गर्दै कुटपिट गरेर छाेराकाे हत्या गरिएको बताए ।
लागुऔषध प्रयाेगकर्ता रहेका शाहीलाई परिवारले सुधार केन्द्रमा गत पुसमा राखेका थिए ।