अछाम : क्रीकेटर सन्दीप लामिछाने माथि जिल्ला अदालत काठमाडौले फैसला गरेको ८ वर्षको कैद सजायका विरुद्ध अछाममा बिरोध प्रदर्शन गरिएको छ । कुनै आधिकारिक तथ्य र प्रमाण नभई अदालतले सन्दीप माथी गरेको यो फैसला उच्च अदालतले खारेज गर्नुपर्ने भन्दै विरोध र्याली गरिएको हो ।
नेपाली क्रीकेटलाई विश्वकपमा पुगाउन महत्त्वपूर्ण योगदान गरेका सन्दीपलाई नै विश्वकप खेल्न नदिने षडयन्त्र भईरहेको भन्दै यसका विरुद्ध आम नेपाली एकजुट हुनुपर्ने भन्दै विरोध कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
अछाम जेसिस र मंगलसेन बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रम अछाम बहुमुखी क्याम्पस बाट सुरु भई बजार परिक्रमा गर्दै अछाम अदालत सम्म पुगेको थियो । र्यालिमा “सन्दीपलाई न्याय दे,विश्वकप खेल्न दे,दोषी भए कारबाही गर,सन्दीप लाई फसाउने मुर्दावाद,न्यायालय मुर्दावाद” जस्ता नारा लगाइएका थिए । हातमा ब्यानर सहित सन्दीपको फोटो अंकित प्ले कार्डहरु लिएर विरोध र्यालिमा सहभागीहरुले सन्दीपले विश्वकप खेल्न पाउनुपर्ने बताएका छ्न ।
बजार परिक्रमा गरि दरबार मार्गमा कोणसभामा परिणत भएको कार्यक्रममा बोल्दै अछाम जेसिसका महासचिव झनक अधिकारीले देशको न्यायालयमा नेतृत्व गर्नेहरुले सेटिङका भरमा फैसला गर्ने गरेको आरोप लगाए । कुनै राजनीतिक दलको कार्यकर्ता वा नेता माथी मुद्दा लागेमा छिनभरमै फैसला हुने गरेको भन्दै उहाँले एउटा देश चिनाउने खेलाडीलाई फसाउन न्यायालय नै लागिपरेको बताए । प्राथमिकतामा परेको सन्दीपको मुद्दालाई हेर्न नमिल्नेमा राख्नु उनलाइ विश्वकप खेल्न नदिने षडयन्त्र भएको स्पष्ट बुझ्न सकिने उनको भनाइ थियो । सन्दीपलाई न्याय दिलाउनका लागि सबै युवाहरुले एकताबद्द भएर लाग्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा बोल्दै बजार व्यवस्थापन समिति अध्यक्ष गोपाल बोगटीले सन्दीपलाई खेल खेल्नबाट रोक्नकै लागि अदालतले फैसला नगरेको आरोप लगाए । विश्वकप खेल्न नेपाली टोली वेस्ट इन्डिज गईसके पनि सन्दीपलाइ खेलबाट रोक्न अनेक षडयन्त्र रचिएको उनको भनाइ छ ।
आजै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने पनि बताइएको छ । सन्दीपलाई सफाइ दिदै विश्वकप खेल्ने ढोका खोलिदिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने अछाम जेसिसका महासचिव झनक अधिकारीले जानकारी दिए ।