धनगढी: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत विवादित इन्सपेक्टर बिनुकुमारी शाहीसहित सुदूरपश्चिमका ५१ जनाको सरुवा भएको छ। देशभर ५१९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएकोमा बिनुकुमारीसहित सुदूरपश्चिमका ५१ जना परेका हुन्।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गरेका थिए। बिनु उनै इन्सपेक्टर हुन्, जो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा निकै विवादित बनेकी थिइन्।
विवादितमात्र होइन केही घटनामा उनलाई विभागीय कारबाही पनि भएको थियो। पछिल्लोपटक उनी थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्। त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो।
त्यस अगाडि पनि कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै बिनुसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोही घटनामा बिनुलाई कारबाही गरिएको थियो। अहिले उनै बिनुको सरुवा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा भएको हो।
यस्तै सुदूरपश्चिमका १७ जना इन्सपेक्टरहरुको सरुवा सुदूरपश्चिम प्रदेशभित्रै भएको छ भने १८ जनाको सुदूरपश्चिमबाहिर सरुवा भएको छ। त्यस्तै अन्यत्रबाट सुदूरपश्चिममा १६ जना सरुवा भई आएकोमा इलाका प्रहरी कार्याल गोकुलेमा भने इन्सपेक्टरको सरुवा भएको तर पूर्ती नभएको जनाइएको छ।
र, यो पनिः नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा [सूचीसहित]
कञ्चनपुरकी ‘विवादित’ इन्सपेक्टर बिनु पहिले पनि परेकी थिइन् कारबाहीमा
आइपीएसको ट्रेनिङमा जान नपाएको भन्दै इन्सपेक्टर बिनुले झोक्किएर विरोध गर्दा…