काठमाडौं: नेपाल प्रहरीका एक एआइजीको गाडीमा तेस्रो लिङ्गी हालेर चोभार डाँडा पुगाएपछि बबन्डर मच्चिएको पाइएको छ। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका एआइजी टेकबहादुर तामाङको २ तारे गाडीमा स्वयम्भू नजिकैबाट तेस्रो लिङ्गी राखेर काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका-६ स्थित चोभार डाँडा पुगाएपछि बबन्डर मच्चिएको पाइएको हो
घटना बैशाख २४ गते रातको भएपनी ढिलोगरी खुलेको हो। स्रोतका अनुसार सो दिनको राति करिव ११ बजेको समयमा प्रहरी प्रधान कार्यालयकै सवारी महाशाखामा कार्यरत एक प्रहरी हवल्दार र प्रहरी जवानले एआइजीको गाडी हेडक्वार्टरबाट निकाले।
दाङ जिल्लाको गढवा गाउँपालिका घर भई प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार दिनेश पन्थी र सुर्खेतको बराहाताल गाउँपालिका-७ घर भई हेड्क्वार्टरमै कार्यरत २४ वर्षीय प्रहरी जवान सागर बुच्या मगरले एआइजीको गाडी मध्यरातमा निकालेका हुन्।
उनीहरूले मध्यरातमा गाडी महाराजगन्ज हुँदै चोभारतर्फ हुँइकाएका थिए। उनीहरूले गाडीमात्रै लगेनन्, गाडीमा २ तेस्रो लिङ्गीलाई पनि लगेर गए।
रातको समयमा उनीहरूले कल्पना र सुस्मिता नामकी तेस्रो लिङ्गीलाई गाडीमा हालेर चोभार पुगाएका थिए। चोभार डाँडा पुगेपछि सुरु भयो उनीहरूको लफडा। सुरुमा ५ हजारमा डील गरेर तेस्रो लिङ्गी लगेकोमा पछि मूल्य बढाएर उनीहरूले २५ हजार चाहियो भनेपछि लफडा भएको स्रोतको दाबी छ।
लफडाका क्रममा प्रहरीद्वयले आफूहरु नेपाली सेनाको कर्मचारी भएको समेत बताएका थिए। तर लफडा बढ्दै गएपछि त्यहाँ प्रहरी पुगेको थियो। प्रहरीले २५ गते बिहान १ बजेको समयमा चोभार डाँडा नजिकै पुग्दा त्यहाँ लफडा भैरहेकोमा उनीहरू सबैलाई नियन्त्रण लियो।
नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनीहरुको असलियत खुलेको थियो। त्यसपछि महानगरीय प्रहरी वृत किर्तिपुरले ती प्रहरी हवल्दार र जवानलाई एक रात थुनेर अर्को दिन कारबाहीको लागि हेडक्वार्टर पठाएको थियो। अहिले उनीहरू निलम्बनमा परेका छन्।
यस्तै तेस्रो लिङ्गीलाई भने आवश्यक अनुसन्धान पश्चात आफन्तको जिम्मा लगाइएको थुयो। उनीहरू सवार बिएए ७४०१ नम्बरको गाडी भने सोही सवारी साधनका सवारी चालक प्रहरी जवाम छिरिङ तामाङलाई जिम्मा लगाइएको थियो। प्रहरी हेडक्वाटर भित्रबाटै एआइजीको गाडी मध्यरातमा दुरुपयोग हुनुलाई सरोकारवालाहरुले भने गम्भीर विषयका रुपमा बुझेका छन्।