धनगढी : गर्मीमा घामले गर्दा छालामा धेरै समस्या देखापर्छन्। चर्को घामले छाला डढ्ने, मेकअप बग्ने, पसिना बढी आउने, चिलाउनेलगायत अनेकन समस्या पनि देखापर्छन्। गर्मीले सबैभन्दा बढी असर महिलाहरूको मेकअपमा पार्छ। गर्मी मौसममा मेकअप धेरै समयसम्म टिक्न गाह्रो हुन्छ। केही कुरामा ध्यान राख्न सके गर्मीबाट हुने समस्याबाट जोगिन सकिन्छ।
गर्मी मौसममा छालाको स्याहार गर्न गाह्रो हुन्छ। पसिनाले गर्दा छाला चिपचिप हुने र मेकअप पनि धेरै समयसम्म नटिक्ने हुन्छ। तैलीय छाला भएकोले गर्मीमा झन् समस्या भोग्नुपर्छ। यस्तो समस्याबाट जोगिन सकेसम्म पूरा बाहुला भएको पहिरन लगाउनुपर्र्छ।
यसले शरीरको देखिने भागलाई घामबाट डढ्नबाट जोगाउँछ। गर्मीमा सेतो वा हल्का रङका पहिरनको प्रयोग उचित हुन्छ। त्यससँग सकेसम्म कम एक्सेसरिजको प्रयोग गर्नुपर्छ। सनग्लास गर्मीमा नभई नहुने एक्सेसरिज हो। दिनमा सनग्लासको प्रयोग गरे पनि साँझसम्म निकाल्नुपर्छ। कपाललाई धेरै कस्सेर बान्नु हुँदैन।
कसेर बाँधेको कपालमा चिपचिपको समस्या बढी देखिन्छ। गर्मीमा कपाल भरसक छोटो राखेको नै राम्रो। छोटो कपाललाई स्याहार्न सजिलो हुन्छ। र, तपाईं कूल देखिन सक्नु हुनेछ।
गर्मीमा कपाल झर्ने समस्याले पनि त्यति नै सताउँछ। धेरै कपाल झरेमा नियमित तेल मालिस गर्ने र कपालमा दहीको प्रयोग पनि गर्न सकिन्छ।
कपालमा हाँगा फाँट्ने समस्या पनि त्यस्तै देखिन्छ। त्यसका लागि २० दिनको अन्तरालमा कपाललाई एकपटक टि्रमिङ गर्ने। कपाललाई स्याम्पूले धोएपछि कागतीको रस वा गुलाबजल मिलाएको पानीले धुने। यसो गर्दा कपालमा पसिनाको गन्ध आउँदैन। यदि टाउको चिलाउने भयो भने छालारोग विशेषज्ञसँग सम्पर्क राख्नुपर्छ। गर्मीमा नियमित कपालमा स्याम्पू गर्नुपर्छ।
गर्मीमा धेरैभन्दा धेरै पानी पिउनुपर्छ। पानी पिउनाले शरीरको विषादी पसिना र पिसाबबाट बाहिर निस्कन्छ।
गर्मी मौसममा वाटरप्रुफ मेकअपको प्रयोग गर्नुपर्छ। कामकाजी महिलाले यो मौसममा हल्का मेकअप गर्नु नै राम्रो। कुनै पनि विवाह, समारोह वा पार्टीमा जाँदा धेरै भोल्टको लाइट हुने भएकोले, त्यस्ता लाइटले मेकअपमा चाँडै असर पार्छ र मेकअप लामो समयसम्म टिक्दैन। यस्तो समस्याबाट बच्न वाटरप्रुफ र राम्रो कम्पनीको सौन्दर्य प्रसाधनको प्रयोग गर्नुपर्छ।
गर्मीमा न्युड लिपस्टिक प्रयोग गर्नुपर्छ। पारदर्शी गुलाबी लिपस्टिक र डिप स्मोकी आइमेकअपले आँखालाई राम्रो र कूल लुक दिन्छ। गर्मीमा मस्कारको प्रयोगले आँखामा भारीपन महसुस गराउँछ। बढी गर्मी भयो भने यो बग्छ पनि। यसो हुन नदिन कृित्रम आइलेसेज प्रयोग गर्न सकिन्छ।
आँखालाई स्मोकी लुक दिन कालो पेन्सिलको प्रयोग गर्न सकिन्छ। गर्मीमा मेकअप गर्नुअघि पाउडर बेस ब्लस लगाउने। ब्लस रोजी पिंक भयो भने अझ आकर्षक देखिन्छ। र चिपचिप देखिँदैन।
यो मौसममा फाउन्डेसन पनि पाउडर बेसको प्रयोग गर्नुपर्छ। लिक्विड बेसले बढी चिपचिप गराउँछ। यसको साटो जेल फाउन्डेसन पनि प्रयोग गर्न सकिन्छ।