धनगढी: कैलालीमा पछिल्लो समय तस्कर सल्बलाएको र तस्करी उकालो लागेको तथ्य फेला परेको छ। प्रहरीले तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसक्दा तस्करी मौलाएको बताइन्छ।
यसबीच प्रहरीले भन्सार छली गरेर ल्याइएको साढे २५ लाख बराबरको अवैध सामान बरामद गरिएको जनाएको छ। तर सो सामान कसको हो भन्ने तथ्य प्रहरीले खुलाएको छैन। लाखौंको सामान भएपनी प्रहरीले यसलाई बेवारिसेको नाम दिएर सामसुम पार्न खोजेको देखिन्छ।
यस्तै यो घटनाले सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरीको सेटिङ र मिलेमतो एवं कमजोरी पनि उजागर गरेको देखिन्छ।
यद्यपि नेपाल प्रहरीले भने भारतबाट भन्सार छलि गरी ल्याइएको २५ लाख ५४ हजार चार सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेर भन्सार हालेको दाबी गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार साँझ साढे ७ बजेतिर जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले कैलारी गाउँपालिका–९, कोईलही ताल क्षेत्रबाट ती सामानहरू बेवारिसे अवस्थामा फेला पारेको जनाएको हो।
बरामद गरिएका सामग्रीमा चार सय पिस सुट, एक हजार ५१७ टप्स, ११२ वटा धोती, १० वटा पूजाको धोती, २० रोल थान कपडा, १० वटा सारी, पाँच वटा टावेल, एक रोल ब्लाउजको अस्तर लगायतका सामान रहेका छन्।
भारतबाट भन्सार छलि गरी कपडा र लत्ताकपडा जन्य सामान नेपाल भित्र्याउने गतिविधि तीव्र रूपमा बढ्दै गइरहेको देखिन्छ।