धनगढी: कैलालीको अत्तरियामा आफूलाई कलाकार तथा व्यवसायी बताउने ज्ञानेन्द्र खड्का हिरासतमुक्त भएका छन्। इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी रण चन्दले खड्कालाई हाजिरजमानीमा छाडिएको जानकारी दिए।
उनी अभद्र व्यवहार अन्तरगतको कसुरमा पक्राउ परेपछि हिरासतमा थिए भने मंगलबार उनी छुटेका हुन्।
प्रहरी स्रोतका अनुसार उनको भारतको राजधानी दिल्लीमा गत अप्रिल ११ मा भएको एक ठूलाे चोरी घटनामा कनेक्सन देखिएपछि समातिएका थिए।
उनीसँगै सो प्रकरणमा संलग्न रहेका अन्य ७ जना पनि प्रहरी हिरासतमा थिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय घोडाघोडा सुखडले मुद्दा चलाएकोमा आज उनीहरू अदालतमा पेस भएका छन्। आज (बुधबार) उनीहरूलाई छाड्ने या थुनामै राख्ने भन्नेबारे छिनोफानो हुनेछ।
भारतकै राजस्थान बस्ने दिल्लीमा घर भएका भारतीय नागरिक कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा विभिन्न किसिमले जोडिएका ८ जनालाई कैलालीमा प्रहरीले समातेर हिरासतमा राखेको थियो।
तर, चोरी गर्नेहरुलाई नेपालको कानुनी जटिलताका कारण अभद्र व्यवहार मुद्दा चलाइएको थियो। दिल्लीमा योजनाबद्ध रुपमा भएको सो चोरीको घटनापछि सुरुमा भारतीय दूतावासमार्फत समन्वयका लागि नेपाल प्रहरी प्रधान कार्यालयलाई अनुरोध आएपछि खोजबिन थालिएको थियो।
त्यसपछि सो घटनामा पक्राउ धनगढीका तीनजना सुनचाँदी व्यवसायीसहित ८ जना समातिएका हुन्।
समातिनेमा अछामको मेल्लेख गाउँपालिकाको सेल गाउँका राजेश साउद, गोकुल साउद, सुरेश साउद, धनगढीको एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप र रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिजापती रहेका छन्।
यस्तै गोदावरी नगरपालिकाका मिनबहादुर गुरुङ र ज्ञानेन्द्र खड्का पनि यहीँ प्रकरणमा समातिएका थिए। खड्का उनै मान्छे हुन्, जसले सामाजिक सन्जालमा सुन लगाएको तस्बिर प्रदर्शन गर्दै प्रहरीसँग निकटस्थ देखिन्थे।
यो प्रकरणमा संलग्न अन्य दुई जना भारतीय नागरिकसहित झापाका देव मल्ल र दोलखाका शंकर लामा भारतको दिल्लीमा पक्राउ परेका छन् भने अन्य तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी जारी छ।
प्रहरीकाअनुसार उनीहरुको साथमा नगद २८ लाख नेपाली रुपैयाँ, दुई सय ४० ग्राम सुन, १३ तोला सुनको गरगहना, चार किलो नौ सय ग्राम चाँदी र चार वटा घडी फेला परेको छ।
भारतीय दूतावासले कपिलको घरबाट २ किलो सुन, २२ लाख भारतीय रुपैयाँ, १० किलो चाँदी र १० वटा घडी चोरी भएको विवरण दिँदै अनुसन्धानमा सहजीकरणका लागि औपचारिक अनुरोध गरेको थियो।
स्रोतका अनुसार यो गिरोहले घरेलु कामदारमार्फत सूचनासंकेत दिने, योजना बनाउने र चोरी गरिएका सामान नेपाल ल्याएर सुनचाँदी व्यवसायीमार्फत बिक्री गर्ने गरेको पाइएको छ।
उनका अनुसार दिल्लीस्थित गिरोहले सुरुमा लक्षित घरमा नेपाली कामदार भर्ना गराउने, ती कामदारबाट घरभित्रका मूल्यवान वस्तुको जानकारी सङ्कलन गर्ने र त्यसैको आधारमा चोरी गरिने गरेको देखिएको छ। चोरीपछि उक्त सामान नेपाल ल्याइने र यहाँका व्यवसायी र विचौलियाको सहायताले बिक्री गरिने गरेको खुलेको छ।
भारतमा हुने चोरीको हकमा दुई देशबीचको संयुक्त कानुन अभावमा सोही शिर्षकमा मुद्दा चलाउन चुनौतीपूर्ण भएपनि प्रहरीले समन्वय गरेर आरोपीतको साथमा भेटिएको नगद र गरगहना सम्बन्धीत पक्षलाई नै फिर्ता गराउने गरेको छ।
प्रहरीकाअनुसार भारतमा घरेलु कामदारका रुपमा जाने नेपालीहरु संगठित रुपमा चोरीमा संलग्न हुने गरेको देखिन्छ।
यो गिरोहमा विचौलियाको भूमिकामा अत्तरियाका खड्का र गुरुङ थिए भने यसमा केही प्रहरीसमेत मुछिनसक्ने भन्दै उनीहरूलाई पनि टार्गेटमा राखिएको जनाइएको छ। प्रहरीले मिलेमतो गरेर आर्थिक चलखेल गराएको हुनसक्ने अनुमान छ।
र, यो पनि: भारत–सुदूरपश्चिम सँगठित चोरीको र्याकेट: ‘सुनवाला’ खड्कासहित ८ जना खोरमा, प्रहरी पनि ‘टार्गेट’मा