धनगढी: कञ्चनपुरमा सरकारी सम्पत्ति एवं जग्गा अतिक्रमण गरेर र भाडामा लिएर बनाइएका अनाधिकृत र अवैध संरचना हटाउने कार्य जारी छ। गत वर्षको चैतदेखि नै सुरु गरिएको उक्त कार्य अहिले पनि जारी छ। नगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन सक्रिय रुपमा लागेको जनाएको छ। पालिकाले तत्कालीन महेन्द्रनगर नगर विकास समितिमा विभिन्न समयमा बनेका अध्यक्षहरुले अवैध रुपमा भाडामा वितरण गरेका जग्गा खाली गराउने अभियान जारी रहेको जनाएको हो।
तर कञ्चनपुर जिल्लामा कृयाशिल राजनैतिक दलहरुले भने सर्वसाधारणले भाडामा लिएर बनाएका संरचनामात्र हटाउन लागिएको र ठूला व्यापारीहरुले कब्जा गरेका संरचना एवं जग्गाहरु खाली नगराइएको दाबी गरेका छन्। नगरपालिकाले ठूला व्यापारीलाई पोस्न संरचना हटाउन ढिलाई गरिरहेको उनीहरूको दाबी छ।
दलहरुले नगर विकास समितिको जमिन गैरकानुनी रुपमा अपचलन र भुमाफियाहरुले कौडीको भाउमा नियमविपरीत लिजमा लिएर अतिक्रमण गरेको आरोप पनि लगाएका छन्। उनीहरूले यस्ता जमिन तथा सो क्षेत्रमा बनेका अवैध संरचनासमेत ३ दिनभित्र खाली गराउन नगरपालिकाका मेयर पदमबहादुर बोगटीलाई लिखित अल्टिमेटम दिएका छन्।
आज एक कार्यक्रमकाबीच नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, क्रान्तिकारी कम्युनिष्ट पाटी बैद्य समूहसहित नेकपा विप्लव, राप्रपा लगायतका प्रतिनिधि एवं युवा विद्यार्थी नेताहरुले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र भीमदत्त नगरपालिकाका मेयर बोगटीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए। माओवादी केन्द्रका विद्यार्थी नेता कैलाश चन्द्र गिरीले नगरपालिकाले व्यापारीक पृष्ठभुमिवाबाट पनि जग्गा फिर्ता लिनुपर्ने अडान राखिएको जनाए।
उनका अनुसार अवैध संरचना खाली नगरिए आन्दोलनसमेत गरिने चेतावनी दिइएको छ। स्रोतका अनुसार हाल महेन्द्रनगरस्थित पाठक डेरीले भाडामा लिएको जग्गाक्षेत्र, कलश होटलको पार्किङ र हल, व्यवसायी नारद पाण्डेको मिल, भानु पाटी प्यालेसको क्षेत्र, ओपेरा होटलको पार्किङ र स्विमिङ पुलको क्षेत्र खाली गराउन नगरपालिका हच्किरहेको हो। सोही हच्किका कारण आफूहरुले भूमिका खेल्नुपरेको नेताहरूको भनाई छ।
र, यो पनिः कञ्चनपुरमा धमाधम अतिक्रमण हटाइदैं, ३९ संरचना भत्काइए
महेन्द्रनगरको ओपेरा होटलमा रेड मार्किङ !
सरकारी जग्गामा महेन्द्रनगरको ओपेरा होटलको रजगज