काठमाडौं: कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआइजी अर्जुन चन्द ठकुरीले सम्हालेका छन्। आज (मंगलबार) हाजिर भएका उनले प्रदेश प्रहरीको जिम्मेवारी ग्रहण गरेका हुन्।
अस्ति बुधबारमात्रै गृह मन्त्रालयले केही डीआइजीहरुको सरुवा र पदस्थापन गर्दै ठकुरीलाई कर्णाली पठाएको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी लालमणी आचार्यलाई भने भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको थियो। आचार्यको स्थानमा ठकुरी गएका हुन्।
ठकुरीले कर्णाली पुगेर आफ्नो जिम्मेवारी सम्हाल्ने क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश सुर्खेतका एसएसपी सन्जिव शर्मा दास र एसएसपी बीरबहादुर ओली, प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू लगायत जुनियर प्रहरी अधिकृत तथा जवानहरूले कार्यालयमा स्वागत गरेका थिए।
यस्तै ठकुरीले जिम्मेवारी सम्हाल्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवम् पीडितमैत्री सेवा प्रवाह, अनुशासित, ईमान्दार, लगनशिल, कर्तव्यनिष्ठ भई काम गरी राम्रो आचरण व्यवहार प्रदशित गरी काम गर्न निर्देशन दिएका छन्।
ठकुरी उनै ठकुरी उनै विवादित प्रहरी अधिकारी हुन्, जो बेलाबेला विवादमा आइरहन्छन्। उनी डिएसपी हुँदादेखि नै विवादित बनेका हुन्। तत्कालीन समयमा चर्चित जमिम शाह हत्याकाण्डमा संलग्न भारतीय अपराधीसँग उनको कनेक्सन देखिएको थियो। उनी त्यसबेला डिएसपी थिए।
त्यो घटनामा उनीमाथि छानबिन भएको थियो, तर त्यसबेला प्रहरी नेतृत्वको उनीप्रति सहानुभूति भएकाले जोगिएका थिए। त्यसपछि उनी एसपी भएर कैलालीमा बस्दा पनि विवादमा फसे। त्यसपछि डीआईजीमा बढुवा भएपछि विमानस्थलमा पोष्टिङ भएका उनी सुरुदेखि कमजोर देखिएका थिए।
विमानस्थलमा उनको अन्य निकायसँग समन्वय कमजोर देखिएको थियो। उनले भिजिट भिसामा भाग खोजेपछि झनै टकराब बढेको थियो। त्यही टकराब बढेर केही समय अगाडि विमानस्थलमा कुटाकुट नै भएको थियो। घटनाको दिन उनी विदामा थिए। पछि बनेको छानबिन समितिले उनको कमजोरी औँल्याएको थियो।
त्यहीँ क्रममा उनले राजीनामा पन दिएका थिए। तर पछि उनले राजीनामा फिर्ता लिएर काममा फर्किएका थिए। त्यसभन्दा अगाडि पनि उनी एकपटक विवादमा मुछिएका थिए। दुई महिनाअघि एयरलाइन्स कम्पनीसँग निःशुल्क टिकट मागेको घटना बाहिरिएको थियो। उनले नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेको खुलासा भएको हो। उनी प्रहरी बृत्तमा खासगरी कमजोर कमाण्ड भएका प्रहरीका रूपमा चिनिन्छन्।
र, यो पनिः कर्णाली प्रहरीको कमाण्ड ‘विवादित’ डीआइजी चन्दलाई
डीआईजी चन्द किन सधैं विवादित ?
त्रिभुवन विमानस्थलका ‘लोभी’ डिआइजी, जसले ‘फ्रिमै’ परिवारलाई बैंकक घुमाउन खोजे