धनगढी : नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले शुक्रबार राजीनामा दिए। व्यक्तिगत कारणले भन्दै चन्दले राजीनामा दिएका थिए।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको सचिवालयबाट उक्त राजीनामा पत्र मानव स्रोत विभागमा पुगेको थियो। प्रहरी स्रोतका अनुसार, उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझायो।
तर, डीआईजी चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै हिजो (सोमबार) राजीनामा पत्र फिर्ता गराइएको छ। उनलाई १० दिन बिदा दिइएको छ। यहीबीचमा विमानस्थल सुरक्षा कार्यालयबाट सरुवा गर्ने तयारी भएको छ।
विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए। गत वैशाखमा विमानस्थल सुरक्षा प्रमुखका रुपमा सरुवा भएका चन्द यसअघि नै त्यहाँबाट अन्यत्र जान चाहेका थिए।
उनको इच्छा प्रदेश प्रमुख भएर जाने थियो। डीआईजीहरुको सरुवामा सुदूरपश्चिम प्रदेशको नेतृत्व समेत उनले खोजेको बताइन्छ। तर, पाएका थिएनन्।
त्यसपछि असन्तुष्ट रहेका चन्दलाई थप दुई वटा घटनाले निराश बनाएको थियो। विमानस्थल भन्सारमा नेपाल प्रहरीलाई जिम्मा नदिई सशस्त्र प्रहरीलाई खटाएपछि नेपाल प्रहरी असन्तुष्ट छ।
यसको अपजस पनि आफूले व्यहोर्नु परेको र नेपाल प्रहरीले विमानस्थलमा विश्वास जित्न नसक्दा यो अवस्था आएको भन्दै उनको आलोचना भएको थियो। चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए।
चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन्।
विमानस्थलमा भएको घटनाले चर्चामा आएपनि चन्दको पृष्ठभूमी विगतदेखी नै विवादित छ। केही समय अघि उनी नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेको खुलासा भएपछि विवादमा आएका थिए।
चन्द प्रहरी बृत्तमा खासगरी कमजोर कमाण्ड भएका प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। २०५२ सालमा इन्स्पेक्टर पदबाट भर्ना भएका उनी पहिलेदेखि नै कमाण्डमा कमजोर रहेको ब्याचीहरु बताउँछन्।
जमिम शाह हत्यामा संलग्न भारतीय अपराधीसँग उनको कनेक्सन देखिएको थियो। उनी त्यसबेला डिएसपी थिए। उनीसँगै गणेश चन्द, सुरेन्द्र सिंहलगायत प्रहरीसँग हत्याका योजना भारतीयले भेटेका थिए।
पूर्व डिएसपी जगदीश चन्द त गिरोहमै सामेल थिए। त्यो घटनामा अर्जुनमाथि पनि छानबिन भएको थियो। तर, त्यसबेला प्रहरी नेतृत्वमा सुदूरपश्चिममा उच्च अधिकारी भएकाले जोगिए। पछि एसपीमा उनी कैलालीमा बसे। त्यहाँ पनि उनी बारम्बार विवादमा परेका थिए।
डीआईजीमा बढुवा भएपछि विमानस्थलमा पोष्टिङ भएका उनी सुरुदेखि कमजोर देखिएका थिए। विमानस्थलमा अन्य निकायसँग समन्वय कमजोर देखिएको थियो। भिजिट भिसामा भाग खोजेपछि टकराब बढेको थियो। त्यही टकराब बढेर अघिल्लो शुक्रबार कुटाकुट भयो।
विमानस्थलका एक अधिकारीका अनुसार उनी काममा पटक्कै ध्यान दिन्थेनन्। हरेक महिना एक हप्ता बिदा बस्दथे। काममा लापरबाही गरेको विषयलाई लिएर प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पनि उनको ध्यानाकर्षण गराउँदै आएका थिए। चन्द सुदूरपश्चिमको बैतडी पुर्ख्यौली घर भएका प्रहरी अधिकारी हुन्।
र, यो पनि :
त्रिभुवन विमानस्थलका ‘लोभी’ डिआइजी, जसले ‘फ्रिमै’ परिवारलाई बैंकक घुमाउन खोजे
सुदूरपश्चिम आउन विवादित डीआइजी चन्दको जोरजुलम, केसी र मैनाली पनि चर्चामा
सुदूरपश्चिम आउन जोर गरेका विवादित डीआइजी चन्दको सरुवा नै भएन, एयरपोर्टमै थन्किए
विवादित डीआइजी चन्दले दिए राजीनामा
विवादित डीआईजी चन्दको राजीनामा फिर्ता
डीआईजी चन्दलाई विमानस्थलबाट सरुवा गरिँदै