धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टले अनुगमन एवं निरीक्षण गरेका छन्। आज (शुक्रबार) बिष्टले जिल्ला प्रहरी कार्यालयको अनुगमन गरेका हुन्।
उनले त्यहाँक प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन पनि दिएका छन्। बिष्टले अपराध अनुसन्धानमा केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएका थिए।
यस्तै उनले दैनिक काम कारबाहीलाई चुस्त दुरुस्त बनाई आ-आफ्नो जिम्मेवार वडा एरियाहरुमा शान्ति सुरक्षा,अपराध नियन्त्रण र खुल्ला सिमानाकाहरुबाट हुने अपराधिक गतिविधि, अवैध चोरी तस्करीलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा ब्यापक रुपमा प्रहरी परिचालन गरि कडाईका साथ चेक जाँच गर्न निर्देशन दिए।
त्यस्तै समुदाय-प्रहरी साँझेदारी कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय र सहकार्य गरि समाजमा बढिरहेको आत्महत्या, लागु औंषध सेवन, साईबर अपराध, सवारी दुर्घटना लगायतका सामाजिक विकृती बिसंगती न्युनिकरण गर्न बिषेश योजना बनाई लागु गर्नु पर्ने उनको भनाई छ।
र प्रहरी परिचालनको सिलसिलामा प्रहरी कर्मचारीहरुले स्वार्थ वा प्रलोभनमा नपरि कुनै पनि गैरव्यावसायिक क्रिलाकलापमा संलग्न नभई शुन्य सहनशिलतामा कार्य गर्न समेत उनले निर्देशन दिएको बताइएको छ।