धनगढी : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबीच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आएका मियालाई प्रदेश प्रमुख शेरचनले स्वागत गरेका थिए । सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख मिया लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका थिए ।
भेटघाटका क्रममा दुबै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय सञ्चालनका बारेमा अनुभव आदानप्रदान भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सञ्चालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
भेटमा सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले संवृद्धि सुशासन तथा विकासका विषयमा पनि चासो राखेका थिए ।
भेटघाटमा लुम्बिनी प्रदेश प्रमुखको प्रमुख स्वकीय सचिव नारायण आचार्य सह–स्वकीय सचिव वसन्त भट्टचन र कार्यालय सचिव वेदप्रकाश खरेल उपस्थित थिए भने, सुदूरपश्चिमको तर्फबाट प्रदेश प्रमुखको प्रमुख स्वकीय सचिव साबिर अली उपस्थित थिए ।