दार्चुला – नेपाल र भारत सिमा भएर बग्ने महाकाली नदीमा जुनसुकै बेला पनि जलस्तर बढ्न सक्ने भन्दै एनएचपीसीक लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ ।
पिथौरागढ जिल्ला अन्तरगतको धारचुला तहशिल छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनको बाँधबाट जुनसुकै बेला पनि महाकालीमा पानी आउने तथा जलस्तर बढ्न सक्ने उक्त पत्रमा उल्लेख गरिएको छ ।परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रतिदिन बृद्धि भईरहेको तथा बाँधको स्पिलबे रेडियल गेटको मर्मत कार्य सुरु भइरहेको भन्दै बाँधको गेट खोलिन हुँदा नदिमा जलस्तर बढ्ने भारतिय पक्षले जनाएको छ ।
यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै महाकाली नदीमा जुनसुकै बेला जलस्तर बढ्न सक्ने भन्दै नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पुर्व सतर्कता अपनाउन तथा नदी किनारमा नजान आग्रह गरेको छ । यस बारे आज मात्रै एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएर जानकारी गराएको छ
।