काठमाडौँ : नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्रकुमार मल्ललाई नेपाली सेनाको समरी सैनिक जनरल अदालतले सेवाबाट बर्खास्त गरेको छ।
मल्लको शैक्षिक कागजपत्रमा मितिको कैफियत देखिएपछि सैनिक अदालतले मंगलबार भविष्यको लागि अयोग्न नठहरिने गरी सेवाबाट अगल गरिने फैसला गरेको हो। सैनिक प्रवक्ता गौरब केसीका अनुसार सैनिक अदालतले सेवाबाट अलग हुने र भविष्यका लागि अयोग्य नठहरिने गरी फैसला गरेको छ।
उनी न्युयोर्क स्थित नेपाली नियोगमा संयुक्त राष्ट्र संघको लागि सैनिक सहचारीको रूपमा कार्यरत थिए। केसीका अनुसार महासेनानी मल्ल कार्यरत रहेको न्युयोर्कस्थित नेपाली नियोगमा नयाँ सैनिक अधिकारीलाई पठाउने कार्य अघि बढिसकेको छ।
हिरासतमा राखेर अनुसन्धान गरेपछि सेनाले उनीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको सैनिक अधिकारीले जानकारी दिए। सैनिक अदालतले मल्लको कागजपत्रमा कैफियत देखिएको उल्लेख गरेको छ।
मल्लको उमेरको विषयलाई लिएर सैनिक मुख्यालय जंगी अड्डामा उजुरी परेपछि काठमाडौँ बोलाइएको थियो। त्यसपछि सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेर अनुसन्धान गरेको थियो। यस्तै अन्यको पनि उजुरी परेमा वा सेनाभित्र आशंका भएमा यसरी उमेर मिलाउने, सर्टिफिकेट मिलाउनेलाई सेनाले कारबाहीको दायरामा ल्याउने भएको छ।