अछाम– अछाममा एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
अम्बकला बिरामी भएको थाहा पाएपछि स्थानीयले स्टेचरमा तीन घण्टा बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए । स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि वडा, पालिका र जिल्ला प्रशासनको समन्वयमा सुर्खेत पठाएको समाजसेवी तथा नेकपा एमालेकी नेतृ धर्मिन्द्रा शाहले जानकारी दिइन् । बिकले शुक्रबार बिहान बाटुलासैन स्वास्थ्य चौकीमा छोरीलाई जन्मदिए पश्चात् रक्तस्रावका कारण स्वास्थ्यमा जटिलता आएको थियो ।
उनलाई उद्धार गरेर प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको महिला स्वास्थ्य स्वयंसेविका मनसरादेबी खत्रीले जानकारी दिइन् । स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय एवम् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरी सुर्खेत पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए।
गर्भवती, सुत्केरी तथा जटिल अवस्थामा महिलालाई जिल्लामा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत कुरुवासहित निःशुल्क सुविधासम्पन्न अस्पतालमा पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताए । पछिल्लो ५ महिनाको अवधिमा मात्रै पाँच जना महिलाको हेलिकप्टरबाट उद्धार गरिसकेको उनको भनाइ छ। दुर्गम क्षेत्रका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिँदै आएको छ ।