धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका सचिव कम्मान सिंह खत्रीको सरुवा भएको छ। हालै खत्रीको सुदूरपश्चिमबाट सरुवा भएको हो।
उनको सरुवापछि अर्थमा सहसचिव झकलराम अधिकारीलाई अर्थ सचिवको रुपमा पठाइएको छ। तर उनी आइसकेका छैनन्।
झलक उनै मान्छे हुन्, जो केही समय अगाडि अध्यागमन विभागको महानिर्देशकको रुपमा कार्यरत थिए। सो समयमा उनी निकै विवादित बनेका थिए।
विवादित मात्र होइन, उनलाई सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस नै गरेको छ। ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो। ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको थियो।हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादी दावासँग अधिकारीले ह्वाट्स एपमा शङ्कास्पद कुराकानी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पनि खुलेको थियो। तर, राजनीतिक शक्तिकेन्द्रको दबाबमा सीआईबीले उनलाई सरकारी साक्षी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उनलाई सुन तस्करी मुद्दामा प्रतिवादी नबनाएकोबारे प्रश्न उठेको थियो। दावासँग कुरा गरेको स्क्रिन सट बाहिरिएपछि तत्कालीन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीलाई अध्यागमन विभागबाट हटाएर गृह मन्त्रालयमा सरुवा गरेका थिए। त्यसपछि उनी ट्रस्टको कार्यालयमा सरुवा भएका थिए।
असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो। सोही आयोगले दोषी ठहर गरेका उनी अहिले सुदूरपश्चिम सरुवा भएका हुन्।
उसो त अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अकुत सम्पत्तिमा छानबिन जारी राखेको छ। सुन तस्करसँग कनेक्सन देखिएका अधिकारीको पोखरा र काठमाडौंका विभिन्न होटलमा लगानी रहेको सूचनाका आधारमा अख्तियारले छानबिन गरिरहेको जनाइएको छ।
थमौतीका लागि चलखेल
मन्त्रालयका सचिव खत्रीको सरुवा भएर अधिकारीलाई पठाएपनी थमौतीको लागि निकै चर्को चलखेल भैरहेको बुझिएको छ। खत्रीकै सरुवा थमौतीका लागि अर्थमन्त्रीदेखिसमेत लागिपरेका हुन्।
सुदूरपश्चिमका नवनियुक्त अर्थमन्त्री सुरेन्द्र पाल अहिले काठमाडौंमा छन्, उनीसहित केही नेकपा माओवादी र एमालेका माननीय र नेताहरुले सचिवको थमौतीका लागि निकै प्रयास गरिरहेको बताइन्छ। तर अहिलेसम्म थमौती भने नभएको अर्थमन्त्रालयले जनाएको छ।
अर्थमन्त्रालय स्रोतले चर्चा चलेपनी अहिलेसम्म थमौतीको पत्र नआइसकेको जनाएको छ। सुदूरपश्चिममा हालै ल्याइएको बजेटको रातो किताब पनि सचिव सरुवा काण्डकै कारण अड्किएको दाबी गरिएको छ। बजेट आएको एक हप्ता बित्दासमेत सुदूरपश्चिममा रातो किताब सार्वजनिक गरिएको छैन।