धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको रातो किताब बिचौलियाहरुले लिक गरेका छन् । सरकार र अर्थ मन्त्रालयले सार्वजनिक गर्नुअघि नै लिक भएर भाइरल बनेको हो।
सरकारले असार १ गते ल्याएको बजेट छलफलकै क्रममा रहेको छ । बजेट ल्याएपछि प्रदेश सभा सञ्चालन नहुदाँ बजेट पास हुन सकेको छैन् । तर विचौलियाहरुले रातो किताब सामाजिक सञ्जालमा भाइरल गरिरहेका छन् । उनीहरु रातो किताब भएको भन्दै बजेट र योजनाहरुको पिडिएफ फाइल भाइरल गरिरहेका छन्। विचौलियाहरुले सामाजिक सञ्जाल, ह्वाट्सएप, म्यासेन्जरमा सो फाइल भाइरल छ।
प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
बजेट ल्याएको भोलिपल्टै सचिवको सरुवा भएका कारण रातो किताब सार्वजनिक हुन सकेको थिएन् । तर अर्थ मन्त्रालयसम्मै पहुचँ भएका बिचौलियाहरुले रातो किताब अवैध तरिकाले सार्वजनिक गरको अर्थ मन्त्रालयको भनाई छ ।
यस बिषयमा अर्थमन्त्री सुरेन्द्र पालले आधिकारिक रुपमा रातो किताब सार्वजनिक नगरिएको बताए । उनले अर्थ सचिव सरुवा भएको कारण रातो किताब सार्वजनिक हुन नसकेको भन्दै केही दिनमै सार्वजनिक गर्ने बताए । विचौलियाहरुले रातो किताब भन्दै सामाजिक सञ्जालमा भाइरल गरिरहेको बिषयमा मन्त्री पालले बुझिरहेको आफू गृह जिल्ला बैतडी रहेको प्रतिक्रिया दिए ।
यस्तै सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलले सरकारले बजेट भाषण पछि रातो किताब जारी नगरेको भन्दै आक्रोश व्यक्त गरेको छ । दलका नेता कमल बहादुर शाहले मन्त्रालय भागबन्डामा कुरा नमिलेका कारण रातो किताब नआएको भन्दै सरकारको आलोचना गरे ।
उनले बजेट सार्वजनिक भएको दुई साता पुग्नै लाग्दा पनि सरकारले रातो किताब सार्वजनिक गर्न नसक्नु विडम्बनापूर्ण कुरा रहेको बताए । शाहले प्रदेश सरकारले समयमा बजेटको किताब सार्वजनिक नगर्दा स्थानीय तहको सरकारलाई बजेट बनाउन समस्या भइरहेको बताए ।
यता नेपाल नगरपालिका संघले पनि प्रदेश सरकारले रातो किताब सार्वजनिक नगर्दा स्थानीय तहहरुलाई समस्या भइरहेको भन्दै विज्ञप्ती जारी गरेको छ ।
रातो किताब