काठमाडौं : मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पहिरोमा परी पोखरा २७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको ५ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
त्यस्तै लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।
क्व्होलासोथार गाउँपालिका ३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।