काठमाडौं : अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा नेपाली सेना मौका गुमाउँदै गएको छ । नागरिकता लगायतका प्रमाणपत्रमा कैफियत देखिन थालेपछि राष्ट्र संघमा कार्यरत सेनाका अधिकृतहरू जागिरबाटै बर्खास्तीमा पर्न थालेका हुन् ।
योसँगै अन्तर्राष्ट्रिय फोरममा नेपाली सेनाको छविमा नराम्रो प्रभाव पर्न थालेको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली सेनाको सैनिक सल्लाहकार पदमा कार्यरत रहन कर्णेल दिरेन्द्रकुमार मल्ल नागरिकतामा केरमेट गरेको आरोप लागेको थियो ।
त्यसपछि उनी जागिरबाट बर्खास्तीमा परेका छन् । अहिले उनको स्थानमा कर्णेल रोहित गुरुङलाई नेपाली सेनाले छनौट गरी पठाउने तयारी गरेको सैनिक स्रोत बताउँछ ।
चार महिना अघि न्यूयोर्कमा सैनिक सल्लाहकार पदमा नियुक्त भई गएका कर्णेल मल्लको नागरिकतामा रक्षा मन्त्रालयले कैफियत औंलाए पछि उनी केही हप्ता अगाडी मात्र जागिरबाट बर्खास्तीमा परेका थिए ।
नेपाली सेनाको तर्फबाट सैनिक सल्लाहकारमा नियुक्त भई कार्यरत व्यक्ति नै कारबाहीमा परी जागिर गएको अवस्थामा अन्तर्राष्ट्रिय फोरममा नेपाली सेनाको छविमा कस्तो प्रभाव पर्यो विवेचना गर्नु पर्ने हुन्छ ।
परिवार सहित न्यूयोर्क गएर बच्चा समेत विद्यालयमा भर्ना भइसकेको अवस्थामा अचानक उनलाई नेपाल बोलाई सैनिक प्रहरीको हिरासतमा राखी बर्खास्त गरिएको थियो ।
विगतमा नेपाली सेनाको तर्फबाट युएनको उच्च पदमा रथी चित्र बहादुर गुरुङ मात्र पुगेका थिए । उनी डेपुटी मिलएड हुँदै महासचिवको सहायक मिलएडसम्म भएका थिए । उनी बाहेक हालसम्म सेनाको तर्फबाट कोही पनि उच्च पदमा पुगेका छैनन् ।
नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्र संघका महासचिवको सैनिक सल्लाहकार (मिलएड) पद प्राप्तिको लागी पहल भएमा अन्तर्राष्ट्रिय जगतमा प्रभाव पारेका, सम्भावना र क्षमता भएका जर्नेल मध्यबाट खटाउँदा सेनाको अन्तर्राष्ट्रिय जगतमा ठुलो उपलब्धि हुनुका साथै शान्ति सेना मिसनको लागी समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।