कञ्चनपुर– यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार झिनो मतले पराजित बनेका थिए ।
मेयरमा एमालेका कर्णबहादुर हमाल ६ हजार ७ सय ६ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी बनको कांग्रेसका हेमराज ओझा ५ हजार ७ सय ६० मत ल्याएर पराजित भए । माओवादीका जोगराज चौधरीले ५ हजार ७ सय ५४ र राप्रपाका सुरेन्द्र बहादुर बमले ८ सय १६ मत ल्याएका थिए ।
कृष्णपुमा अहिले पनि नेपाली कांग्रस, नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । बिगतको मतपरिणामलाई नियाल्दा यी दलहरुबीच यसपटक रोचक भिडन्त हुने देखिन्छ ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धनको प्रयास भएपनि सफल नभएपछि अहिले नेकपा एमाले र नेपाली कांग्रेस उत्साहित छन् । कांग्रेस यसपटक हारको बदला लिने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएको छ भने एमालेले अघिल्लो चुनावको विरासत कायम राख्दै नगरमा निरन्तरता पाउने दाउमा मैदानमा छ । नेकपा एमालेलाई भने केही हदसम्म पार्टी विभाजनको डर छ ।
उता मेयरमा तेस्रो स्थानमा खुम्चिएको नेकपा माओवादी केन्द्र पनि बिगतको शक्तिलाई बढाउँदै नगरको नेतृत्व हत्याउने दाउमा चुनावी रणभूमिमा छ ।
पहिलो पटक चुनावमा सहभागी हुन लागेको एकीकृत समाजवादी पनि शक्ति सुरक्षित गर्दै एमालेको पङ्क्ति आफूसंग रहेको पुष्टाइ गर्नु पर्ने अवस्थामा छ । यहाँ माओवादी र समाजवादीले नगरको प्रमुख उपप्रमुख पदमा छुट्टा छुट्टै उम्मेदवारी दिएर प्रचारप्रसारमा सक्रिय भएका छन् ।
कृष्णपुरमा नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा यसअघि हारेका जोगराज चौधरी र उपमेयरमा गीता मल्ल चुनावी मैदानमा छन् । समाजवादीबाट मेयरका उम्मेदवार सुरेन्द्र बम र उपमेयरमा मञ्जु नेपाली छन् ।
सत्तागठबन्धनबाट बाहिरिएर एक्लै चुनावी मैदानमा उत्रिएको कांग्रेसबाट मेयरमा अघिल्लो पल्ट हारेका हेमराज ओझा र उपमेयरमा द्रोपती रानालाई अगाडि सारिएको छ । नेकपा एमालेले मेयरमा लोकेन्द्र प्रसाद पन्त र उपमेयरमा ०७४ सालमा विजयी रमिता रानालाई उम्मेदवार उठाएको छ ।
एमालेकी उपमेयरकी उम्मेदवार राना ७ हजार १८ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटतम् प्रतिस्पर्धी कांग्रेसकी भुवनेश्वरी जोशीले ५ हजार ९ सय २८, माओवादी केन्द्रकी सर्मिला बिष्टले ५ हजार ४ सय ३ र राप्रपाकी उषादेवी थापाले १ हजार ३ मत ल्याएकी थिइन् । ९ वटा वडा रहेको कृष्णपुरमा एमाले, कांग्रेस र माओवादीले ३÷३ वडा जितेको थियो ।