धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयमा कार्यान्वयनमा सहयोग नगरेको गुनासो गरिएको छ ।
राजनीतिक समीकरण फेरिएसँगै नेकपा एमाले सरकारबाट बाहिरिएपछि अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पास हुन सकेको छैन । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको जारी बजेट अधिवेशन अन्त्य गरेको अध्यायदेशमार्फत बजेट ल्याउन खोजेका छन् ।
त्यसका लागि मन्त्रिपरिषद्बाट प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गराएर सोडारीले प्रदेश प्रमुख मियाँलाई पत्राचार गरेका छन् तर प्रदेश प्रमुख नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण समारोहमा सहभागी हुन काठमाडौँ हिडेपछि अधिवेशन अन्त्य गर्ने सरकारको सिफारिससहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा थन्किएको छ ।
जलस्रोत तथा सिचाई मन्त्री अक्कलबहादुर रावलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने सिफारिसलाई अघि नबढाएको गुनासो गरे ।