धनगढीः सुदूरपश्चिम प्रदेश सरकारबाट योजनामा बजेट हाल्ने भन्दै कमिसन उठाउने काममा नेकपा माओवादी केन्द्रका नेताहरू संलग्न रहेको खुलेको छ।
माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष र दुई जना सदस्यले योजना पारित गरिदिने भन्दै कमिसन उठाएको विषय बाहिर आएको हो। कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएका मदन ओड, नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष हुकुम साउँद र प्रदेश कमिटी सदस्य डबल ताम्राकारले अग्रिम कमिसन लिएको पाइएको हो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ज्ञानेन्द्र महराले माओवादी नेताहरूले आफूबाट २० हजार अग्रिम कमिसन लिएर साढे २ लाखको बार्गेनिङ गरेको बताएका छन्।
महराका अनुसार मदन ओडले पटकपटक घरमै आएर योजना हाल्ने भन्दै कमिसन बापत २० हजार बुझेका छन्। यस्तै पछि ढाई लाख दिनुस् भनेको पनि उनले बताए।
त्यस्तै २०८० फागुन १५ गते ओड र धनगढी घर भएका ताम्राकारले पल्सर बाइकमा आएर कमिसन बापतको २० हजार रुपैयाँ लगेको उनले बताए। तर उनीहरूले भने कमिसन नलिएको दाबी गरेका छन्।
सुदूरपश्चिममा हरेक आर्थिक वर्ष सुरु हुनुअघि योजनामा बजेट हाल्न पहल गर्ने भन्दै विचौलियाहरू सक्रिय हुने गरेको बताइन्छ।