धनगढी : असार मसान्तभित्र बजेट ल्याउन नसक्ने सुदूरपश्चिमका तीन स्थानीय तहमा ‘बजेट होलिडे’ भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) अनुसार स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।
त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले १ साउनबाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन । अर्थात्, बजेट होलिडे हुन्छ । तर, सुदूरपश्चिमका ३ गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।
गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशका अनुसार आर्थिक वर्ष २०८१/८२ सुरु भइसक्दा पनि सुदूरपश्चिमका ३ गाउँपालिकाले बजेट ल्याउन नसकेको हो ।
सुदूरपश्चिमका ५४ गाउँपालिकामा अछामको तुर्माखाद गाउँपालिका, अछामकै रामारोशन गाउँपालिका र बझाङकोे बित्थडचिर गाउँपालिकाले असार मसान्त कट्दा पनि बजेट ल्याउन नसकेका हुन् ।
गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशका समन्वय अधिकृत नवराज उपाध्यायले यि तीन पालिकाले अझै बजेट ल्याउन नसकेको बताए ।
मन्त्रालयमा २५ पालिकाको छैन प्रविष्टि
सुदूरपश्चिमका २५ पालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रविष्ट गरेका छैनन् । ८८ स्थानीय तहमध्ये बुधबारसम्म ६३ स्थानीय तहले मात्रै बजेट प्रविष्ट गरेका छन् ।
मन्त्रालयका अनुसार २५ स्थानीय तहले बजेट प्रविष्ट नगरेका हुन् ।
‘पालिकाहरुले समयमै बजेट ल्याउन नसक्नु राजनीतिक द्वन्द्व रहेको छ । प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिति, जनप्रतिनिधिबीच आपसी द्वन्द्व तथा बजेट विनियोजनमा विवाद लगायत कारण रहेको महासंघको भनाइ छ ।
महासंघका अनुसार गत वर्ष बजेट होलिडे हुने पालिकाको सामाजिक सुरक्षा भत्ता, शिक्षक, कर्मचारीको तलबदेखि सबै कुरा रोकिएको थियो ।