धनगढी: सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ। प्रदेश सभाको सचिवालयका अनुसार आज राति १२ बजेदेखि सुदूरपश्चिममा चालू चौथो अधिवेशन अन्त्य भएको हो।
प्रदेश सभा सचिवालयले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु चौथो अधिवेशन बिहिबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको जनाएको छ।
सो अधिवेशन प्रदेश प्रमुखको कार्यालयको पत्रमार्फत अन्त्य भएको हो।
यस अगाडि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २९ असारमा प्रदेश प्रमुखलाई प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो। तर, प्रदेश प्रमुख उक्त सिफारिसलाई बेवास्ता गर्दै काठमाडौँ गएपछि आज पुनः उतै पत्र पठाइएको थियो।
त्यसकारण अधिवेशन अन्त्यमा ढिलाई भएको थियो। सोही कारण सरकारले उनको भूमिकामाथि प्रश्न उठाएको छ। यस्तै केन्द्रिय राजनीतिक समीकरण फेरिएपछि सुदूरपश्चिममा पनि २० असारमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन्।
एमाले सरकारबाट बाहिरिएपछि अगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेट समेत पारित हुन नसक्दा प्रदेश नै बजेट शून्यतामा गएको छ। मुख्यमन्त्री सोडारीले भने अध्यायदेशबाट बजेट ल्याउने सबै तयारी पूरा भइसकेको तर प्रदेश प्रमुखले जारी गर्न मात्र बाँकी रहेको बताउँदै आएका छन्।