धनगढी : आन्तरिक राजश्व कार्यालय धनगढीको राजश्व संकलन दरमा सुधार आएको छ । राजश्व कार्यालयले हालै सम्पन्न भएको आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ८६ दशमलव ८३ प्रतिशत राजश्व संकलन गरेको पाइएको छ ।
कार्यालयका प्रमुख मोहन बस्नेतले आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ८ करोड राजश्ज संकलन गर्ने लक्ष्य राखिएकोमा दुई अर्ब ६७ करोड अथात् ८६.८३ प्रतिशत संकलन भएको जानकारी दिए । उनकाअनुसार यो राजश्व संकलनको अवस्था अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३.८ प्रतिशतले बढि हो ।
बस्नेतले अघिल्लो वर्ष दुई अर्ब ५७ करोड मात्र राजश्व संकलन भएको बताए । आन्तरिक राजश्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा भने आयकरतर्फ एक अर्ब ५४ करोड, मूल्य अभिबृद्धि करतर्फ ९९ करोड र अन्त शुल्क वापत १४ करोड संकलन गरिएको जनाएको छ ।
कार्यालयका प्रमुख बस्नेतले निर्धारण गरिएको वार्षिक लक्ष्य भेटाउन नसकिएपनि गत वर्षको भन्दै १० करोड बढिको राजश्व संकलन भएको बताउँदै त्यसका विभिन्न कारण रहेको सुनाएका छन् ।
नक्कली बिजक जारी गर्नेलाई कारवाहीको दायरामा ल्याएर कर असुल्नु, करको परीक्षण र अनुसन्धानको दायरालाई फराकिलो बनाउनु जस्ता कारणले राजश्व संकलनको दरमा सुधार गर्न सकिएको उनी बताउँछन् ।