धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेश गरेका छन्।
आइतबार प्रदेश प्रमुख समक्ष शाहले मुख्यमन्त्रीको लागी दाबी गरेका हुन्।
प्रदेश सभामा दोस्रो ठुलो दल नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा शाहले दाबी पेश गरेका हुन्।
यो सँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौँ मुख्यमन्त्री बन्ने भएका छन्। राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए।
शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन्। पुन: समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई फेरि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा कांग्रेसबाट प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा पनि थिए। तर, यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएकोले बाँकी काम पूरा गर्नका लागि उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको हो।
पार्टी सभापति शेरबहादुर देउवाले पनि अहिले शाहलाई मुख्यमन्त्रीमा सहयोग गर्न अन्य आकांक्षीहरूलाई निर्देशन दिएका थिए। देउवाको निर्देशनपछि उनका भतिजा समेत रहेका प्रकाशबहादुर देउवा पनि धनगढी फर्किसकेका छन्।